इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले मातृभाषा संरक्षण र पुस्तान्तरणलाई प्राथमिकता दिँदै गाउँपालिकाभित्रका ११ सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ।
राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीन विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा र लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीन विद्यालयमा लिम्बू भाषा अनिवार्य विषयका रूपमा पठनपाठन सुरु गरिएको हो।
गाउँपालिकाका अनुसार माङसेबुङ–२ को सरस्वती आधारभूत विद्यालय, वडा नं. ४ को जनता आधारभूत विद्यालय र वडा नं. ६ को सिंहेश्वरी आधारभूत विद्यालयमा यस वर्षदेखि वान्तवा भाषाको पाठ्यपुस्तक लागू गरिएको छ।
यसअघि वडा नं. ६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा मात्रै वान्तवा भाषा पढाइ हुँदै आएको थियो।
त्यस्तै, माङसेबुङ–१ का गजुरमुखी आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय तथा वडा नं. ३ को दुर्गा माध्यमिक विद्यालयमा यस वर्षदेखि लिम्बू भाषाको पाठ्यपुस्तक लागू गरिएको छ।
यसअघि माङसेबुङ–३ को पवित्रा आधारभूत विद्यालय तथा वडा नं. ५ का साम्जिक मुन्धुम आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा अध्यापन हुँदै आएको थियो।
मातृभाषा शिक्षा लागू भएका विद्यालयमा गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट तलब–भत्ता उपलब्ध गराउने गरी शिक्षक दरबन्दी सिर्जना गरेर शिक्षकको व्यवस्था गरेको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए।
गाउँपालिका अध्यक्ष हेमन्त राईले प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था सञ्चालन गर्ने अधिकार संविधानले दिएको भन्दै मातृभाषा शिक्षालाई प्राथमिकता दिइएको बताए।
“हामीले नयाँ शैक्षिक संस्था खोलेका होइनौँ। सामुदायिक बाहुल्य भएका विद्यालयमा मातृभाषा शिक्षकको दरबन्दी सिर्जना गरी मातृभाषाको पाठ्यपुस्तक लागू गरेर पठनपाठन गराएका हौँ,” राईले भने।
मातृभाषा शिक्षा लागू नभएका अन्य विद्यालयमा भने स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माङसेबुङ’ अध्यापन हुँदै आएको छ।
माङसेबुङ गाउँपालिकाले गत जेठ १२ गतेदेखि गाउँपालिकाभर लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा समेत घोषणा गरी कार्यान्वयनमा ल्याएको छ।
गाउँपालिकाको यो पहलले स्थानीय मातृभाषाको संरक्षणसँगै नयाँ पुस्तामा भाषाको पुस्तान्तरणलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।