इलाम/ इलामको माइजोगमाई गाउँपालिका–२ मा अत्यन्तै दुःखद घटना भएको छ। खोल्सोमा आएको बाढीले छोरा बगाएर मृत्यु भएपछि शोक सहन नसकेर आमाले पनि झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
स्थानीयका अनुसार हिजो(साेमबार( विद्यालयबाट घर फर्किरहेका एक बालक खोल्सोमा आएको बाढीले बगाउँदा उनको ज्यान गएको थियो। त्यसपछि बालककी ३८ वर्षीया आमा अमृता लेप्चा खत्री सम्पर्कविहीन भएकी थिइन्।
स्थानीयवासी प्रदीप खड्काका अनुसार रातभर खोजी गर्दा उनी फेला परेकी थिइनन्। आज बिहान भने घरनजिकै झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।
प्रारम्भिक रूपमा छोराको मृत्युको पीडा सहन नसकेर उनले आत्महत्या गरेको आशंका गरिएको भए पनि घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार अमृता माइतमा बस्दै छोरालाई पढाउँदै आएकी थिइन्। उनका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन् भने स्थायी घर गुल्मी जिल्लामा रहेको बताइएको छ।
घटनास्थलमा प्रहरी पुगेर कानुनी प्रक्रिया पूरा गर्दै दुवै घटनाबारे अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।