-साङ्केतिक तस्बिर
झापा/ झापाको कन्काई नगरपालिका–४ कोटिहोमस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ।
बिहान करिब ६:३० बजे दमकतर्फबाट बिर्तामोड आउँदै गरेको मे.१.च.५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७०–७५ वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।
तर बिहान करिब ७:५० बजे अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। मृतकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि पिकअप सडक छेउको बालुवामा फसेको र जेसीबीको सहायताले निकाल्ने प्रयास गरिएको थियो। पिकअप इलामको सूर्योदय नगरपालिका–३ निवासी ३३ वर्षीय अरुण शर्माले चलाइरहेको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।