फाइल तस्बिर
धरान/ सरकार र पीडित पक्षबीच औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। स्थानीयस्तरमा सहमति दबाबमा गराइएको भन्दै विरोध चर्किएपछि शव बुझ्न विराटनगर पुगेका परिवारका सदस्य र आफन्त पुनः गाउँ फर्किएका हुन्।
यससँगै शुक्रबार दिउँसो २ बजे अन्त्येष्टि गर्ने सहमतिअनुसारको प्रक्रिया अन्योलमा परेको छ। शव नबुझाइएपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन। प्रहरीले भने परिवार र स्थानीयसँग समन्वय गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ।
गत आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थल नजिकै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको थियो। दुवैको शव अहिले पनि सोही अस्पतालको शवगृहमा राखिएको छ।
बिहीबार राति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सरकारले मृतक परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सम्झौता भएको हो।
सहमतिअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कानुनी कारबाही अघि बढाउने, मृतक परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने उल्लेख गरिएको छ।
सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताका तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री गुरुङले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा शुक्रबार दिउँसो २ बजे दुवै मृतकको अन्त्येष्टि गरिने उल्लेख गरिएको थियो।
तर, अन्त्येष्टिको समय नजिकिँदासमेत पोस्टमार्टम सुरु हुन सकेन। अनुसन्धान अधिकारीहरू बिहानैदेखि कानुनी प्रक्रिया पूरा गर्न तयारी अवस्थामा रहे पनि परिवारले शव नबुझ्ने अडान लिएपछि सम्पूर्ण प्रक्रिया रोकिएको हो।
प्रहरी स्रोतका अनुसार स्थानीयस्तरमा गृहमन्त्रीकै उपस्थितिमा मृतकका परिवारलाई फकाएर वा दबाबमा पारेर सहमति गराइएको भन्ने आरोप लागेपछि त्यसको विरोध चर्किएको छ। यही विरोधका कारण शव बुझ्न विराटनगर पुगेका परिवारका सदस्य र आफन्त पुनः देवानगञ्ज फर्किएका हुन्।
यसैबीच देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले पनि गृहमन्त्रीप्रति सार्वजनिक असन्तुष्टि व्यक्त गरेका छन्। गोलीकाण्डपछि स्थानीय तहसँग आवश्यक समन्वय नगरी बैठक र छलफल गरिएको तथा संकटका बेला स्थानीय सरकारलाई बेवास्ता गरिएको उनको आरोप छ। उनले सरकार र पीडित पक्षबीच गाउँपालिकामा छलफल भए पनि स्थानीय सरकारलाई उचित रूपमा सहभागी नगराइएको बताएका छन्। सबै पक्षको आग्रहपछि मात्र आफू छलफलमा सहभागी भएको उनको भनाइ छ।
अध्यक्ष मेहताको असन्तुष्टिलाई स्थानीय बासिन्दा, मृतकका परिवारका सदस्य तथा आफन्तले समेत समर्थन गरेपछि शव बुझाउने प्रक्रिया थप प्रभावित भएको बताइएको छ।
यता सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले भने परिवारले शव बुझ्न अस्वीकार गरेको विषयमा आफूलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार सरकार र पीडित पक्षबीच सहमति भइसकेको तथा सोहीअनुसार शव बुझेर शुक्रबार नै अन्त्येष्टि गर्ने तयारीका लागि देवानगञ्जको सुरक्षा व्यवस्था मिलाइसकिएको थियो।
कप्तानगञ्जमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट १० जना युवा घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको जनाइएको छ।
गोलीकाण्डपछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि हिंसात्मक प्रदर्शनका कारण जिल्लाका विभिन्न क्षेत्र तनावग्रस्त बनेका थिए। बुधबारदेखि सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गए पनि त्यसको प्रभाव मधेश प्रदेशसम्म पुगेको छ। सिरहामा भएको प्रदर्शनका क्रममा गोली लागेर एक किशोरको मृत्यु भइसकेको छ।