धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा शिवसताक्षी–दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्राध्यापक गिरिराज शेर्मा लिम्बूको दुःखद निधन भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज दिउँसो करिब १ः३० बजे मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको २०० सिसी हिरो मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो।
दुर्घटनामा चालक झापाको दमक नगरपालिका निवासी करिब ४५ वर्षीय शेर्मा घटनास्थलमै मृत फेला परेका थिए।
प्रारम्भिक जानकारीअनुसार बिरामी बुबाको उपचारका लागि आवश्यक रकम बोकेर धरानतर्फ आउँदै गरेका बेला उनको मोटरसाइकल दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने देखिएको छ।
मृतक शेर्माको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ।
पाँचथर जिल्ला तुम्बेवा गाउँपालिका वार्ड नं. १ साविक आङना ९ शेर्माटोलमा जन्मनुभई हाल श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय शिव सताक्षी दूधे झापामा प्रधानाध्यापकको जिम्मेवारीमा रहनु भएको प्रहरीले जनाएको छ।
प्राध्यापक शेर्माको असामयिक निधनले राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय परिवार तथा तुम्बेवा गाउँपालिका , विद्यार्थी तथा स्थानीय समुदायलाई गहिरो शोकमा डुबाएको छ।
