धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक धरान–१६ स्थित यु एन नवोदय प्लस २ कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दोहोरो पदक जित्दै नेपाल र आफ्नो कलेजको गौरव बढाएका छन्।
एसियाली कराते महासङ्घको सहकार्यमा बङ्गलादेशमा हालै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रमोदले काता विधामा स्वर्ण पदक तथा ५७ केजीमुनिको कुमिते विधामा कास्य पदक जित्न सफल भएका हुन्।
हाल युएन नवोदय प्लस २ कलेजमा कक्षा ११ कम्प्युटर व्यवस्थापन विषय अध्ययनरत प्रमोदले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको यो सफलता कलेजका लागि मात्रै नभई कोशी प्रदेश र सम्पूर्ण नेपालका लागि गौरवको विषय बनेको छ। अध्ययनसँगै खेलकुदमा पनि विद्यार्थीलाई उत्कृष्ट बनाउन सकिने उदाहरण प्रमोदले प्रस्तुत गरेका छन्।
प्रमोदको सफलताप्रति खुसी व्यक्त गर्दै कलेजका प्राचार्य डम्बरकुमार तुम्बापोले अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीले प्राप्त गरेको उपलब्धिले सम्पूर्ण कलेज परिवार गौरवान्वित भएको बताए। उनका अनुसार युएन नवोदय प्लस २ कलेजले शैक्षिक उत्कृष्टतासँगै खेलकुद, नेतृत्व विकास र व्यक्तित्व निर्माणलाई पनि समान प्राथमिकता दिँदै आएको छ। विद्यार्थीको यही समग्र विकासको परिणामस्वरूप अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता हासिल भइरहेको उनले उल्लेख गरे।
प्रमोदका प्रशिक्षक किरण लामाले प्रमोद मेहनती, अनुशासित र प्रतिबद्ध खेलाडी भएको बताउँदै बङ्गलादेशको सफलताभन्दा अघि पनि उनले श्रीलङ्कामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जितिसकेको जानकारी दिए। आगामी दिनमा अझ ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट नतिजा ल्याउने विश्वास प्रशिक्षक लामाले व्यक्त गरे।
कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले यु एन नवोदय प्लस २ कलेजले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी उनीहरूको चौतर्फी क्षमता विकास, सिर्जनशीलता, नेतृत्व र खेलकुद प्रतिभालाई पनि प्रोत्साहन गर्दै आएको बताए। प्रतिभावान विद्यार्थीलाई आवश्यक सहयोग, हौसला र अवसर प्रदान गर्नु कलेजको प्राथमिकता रहेको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै स्वर्ण र कास्य पदक जितेर फर्किएका प्रमोद राईलाई युएन नवोदय प्लस २ कलेजले विशेष सम्मान कार्यक्रम आयोजना गरी बधाई ज्ञापन गरेको छ। कार्यक्रममा कलेज प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले उनको उपलब्धिको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।
प्रमोद राईको यो ऐतिहासिक सफलताले कोशी प्रदेशकै अग्रणी कलेजले शैक्षिक क्षेत्रमा मात्र होइन, खेलकुद क्षेत्रमा पनि सक्षम र अन्तर्राष्ट्रिय स्तरका प्रतिभा उत्पादन गरिरहेको सन्देश दिएको छ।
