धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घकालीन समाधानको खोजी गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिले शैक्षिक सुधार तथा सार्वजनिक लेखा सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
धरानस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सार्वजनिक लेखा समिति सदस्य तथा संघीय सांसद प्रेमलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा शिक्षा, सार्वजनिक लेखा तथा कार्यसम्पादन व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा सहभागीहरूले आफ्ना समस्या, अनुभव र सुझाव प्रस्तुत गरेका थिए।
सहभागीहरूले उठाएका विषयहरूलाई नीतिगत तहमा सम्बोधन गर्दै दीर्घकालीन समाधानका लागि सम्बन्धित मन्त्रालय तथा निकायसम्म पुर्याउने प्रतिबद्धता सांसद चौधरीले व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन नगर समिति सचिव ख्यामप्रसाद फुयालले गरेका थिए भने नगर सभापति सुमन श्रेष्ठको सभापतित्व रहेको थियो।
रास्वपा धरानले धरानका समस्या पहिचान, अवस्था विश्लेषण तथा समाधानको खोजीका लागि चार चरणमा बहस तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। समृद्ध धरान निर्माणका लागि आर्थिक स्रोत, व्यवस्थापन सुधार र सुशासनमा विशेष जोड दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगर समितिले जनाएको छ।
कार्यक्रममा विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका करिब दुई दर्जन प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उनीहरूले शिक्षा सुधार, सार्वजनिक लेखा प्रणालीको प्रभावकारिता तथा कार्यसम्पादन व्यवस्थापनका विषयमा महत्वपूर्ण सुझाव दिएका थिए।
कार्यक्रमको अन्त्यमा नगर सभापति सुमन श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि रचनात्मक सुझाव र सहकार्यको अपेक्षा रहेको बताए।