धरान/कोशी प्रदेशका विद्यालयस्तरीय प्रतिभाहरूको ठूलो मञ्चका रूपमा स्थापित एसईई आइडल को छैटौँ संस्करण धरानमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा वक्तृत्वकला, गायन र नृत्य विधामा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेका तीन विद्यार्थीले उपाधि जितेका छन्।
प्रतियोगिताको वक्तृत्वकलातर्फ नवोदय विद्या मन्दिर धरानकी सिमरन गुरुङ, गायनतर्फ पब्लिक सेन्ट्रल इङ्लिस स्कुल लेटाङ, मोरङकी बबी श्रेष्ठ तथा नृत्यतर्फ श्री सिंहबाहिनी सेकेण्डरी स्कुल पथरी, मोरङका एलोन राई विजेता बनेका हुन्।
उपाधि विजेताहरूले जनही १ लाख रुपैयाँ नगद, कक्षा ११ र १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति, निःशुल्क मुस्ताङ भ्रमण तथा बारिष्टा तालिमको अवसर प्राप्त गर्ने आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालि का अध्यक्ष तथा प्रतियोगिताका परिकल्पनाकार डम्बरकुमार तुम्बापोले जानकारी दिए।
धरान–१५ स्थित याक्थुङ चुम्लुङ भवन मा शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रम अत्यन्तै उत्साहपूर्ण र भव्य बनेको थियो।
गायन विधातर्फ स्वस्थानी श्रेष्ठ (झापा) फस्ट रनरअप, तक्तुहाङ लिम्बू (धरान) सेकेण्ड रनरअप तथा ह्याप्पीसन लिम्बू (धरान) थर्ड रनरअप घोषित भए। नृत्यतर्फ महिमा लिम्बू (धरान) फस्ट रनरअप, सुजाता घिसिङ (पथरी) सेकेण्ड रनरअप र स्मारिका चेम्जोङ लिम्बू (धरान) थर्ड रनरअप बनिन्।
त्यसैगरी वक्तृत्वकलातर्फ खुशी विष्ट (इटहरी) फस्ट रनरअप, अनुषा महरा (धरान) सेकेण्ड रनरअप तथा हिमा घिमिरे (धरान) थर्ड रनरअप घोषित भए।
फस्ट रनरअपले ३० हजार रुपैयाँ, सेकेण्ड रनरअपले २० हजार रुपैयाँ, थर्ड रनरअपले १० हजार रुपैयाँ तथा पब्लिक च्वाइस विजेताले ७ हजार रुपैयाँ नगदसहित कक्षा ११ का लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई पनि कक्षा ११ मा छात्रवृत्तिको अवसर प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि काेसी प्रदेशका समाजिक विकास मन्त्री रामप्रसाद महताे ले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै लागूऔषधजस्ता कुलतबाट युवालाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा चर्चित गायिका रचना रिमाल ले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिएकी थिइन्। साथै धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा, विभिन्न विद्यालयका प्रिन्सिपल, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन अफिसियल होस्ट मेरिना तुम्सा लिम्बूले गरेकी थिइन् भने स्वागत मन्तव्य कार्यक्रम व्यवस्थापक राम लिम्बूले राखेका थिए।
प्रतियोगिताका परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार, “हरेक बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता हुन्छ, त्यसलाई उजागर गर्न उचित मञ्च आवश्यक हुन्छ। यही उद्देश्यले २०७५ सालदेखि यो प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ।”
२०७५ सालमा ‘एसईई स्टेट १ आइडल’ का रूपमा सुरु भएको यो प्रतियोगिता आज कोशी प्रदेशकै प्रतिष्ठित विद्यार्थी प्रतिभा मञ्चका रूपमा स्थापित हुँदै गएको आयोजकको दाबी छ।