प्रकृतिको पूजा गर्दै उभौली सुरु

  • वैशाख १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt -संगीता राई (स्वर्णिम )

धरान/  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किराँत राई समुदायले मनाउने उभौली चाड देशभर भूमेस्थानमा पूजा आराधना गरी सुरु भएको छ ।

उभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजकहरू अर्थात् नेपालका किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध चाड हो जसलाई “साकेला चाड” पनि भनिन्छ ।

विशेष गरी बाली लगाउनु अघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।

मङ्सिर महिनामा उधौली एक दिन मनाइन्छ भने बैशाख पुर्णिमाका दिनदेखि सुरु भएको उभौली एक महिनासम्म मनाइन्छ । उभौली सूरु भएसंगै अहिले हरेक साकेला थानहरुमा विभिन्न लयका गीतहरु गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्कर देखिन्छ ।

आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रक जस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरु अहिले उभौली, उधौली जस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउने गरेका छन् । टोलटोलमा भइरहेका साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको दखिन्छ ।

धरान–१६ नविन बान्तावा भन्नुहुन्छ आजदेखि सुरु भएको किरातीहरुको महान चाड उभौली साकेला अब एक महिनासम्म हामी साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा सजिएर टोल टोलमा गएर नाच्ने गर्छौ । उहाँ भन्नुहुन्छ, आफ्नो पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रुपमा लिइन्छ, त्यसैले हामीले १०÷१५ दिन अगाडिदेखि भाइबहिनीलाई प्रशिक्षण गराई पूर्वको विभिन्न ठाउँहरुमा साकेला नाच्न जाने गरेका छौै ।

आजबाट सुरु भएको उभौलीलाई ऋतु परिवर्तनको संकेत दिने चाडको रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म किरातीहरुले मनाउने उभौली वसन्त ऋतुको समयमा पर्ने गर्दछ ।

किराँत समुदायले धुमधाम सँग मनाउने उभौली पृथ्वीमा कृषियुग सुरु भएदेखि नै मनाउदै आइएको बुढापाखाहरुको भनाई छ र यस चाडको पहिलो दिन साकेला थानको वरिपरी चण्डी नाच नाच्दै प्रकृतिको आराधना गर्ने गरिन्छ ।

पहिलो दिन साकेला थानमा चण्डी नाच नाचिने भएकोले पनि यस पर्वको पहिलो दिनलाई चण्डी पूर्णिमा भनेर पनि चिनिन्छ । धरान–११ का सरस्वती राई भन्नुहुन्छ, साकेला किरात जातिको पहिचान हो । साकेला सुरु भएसँगै छुट्टै रमाइलो हुने बान्तावा सिलिका रुपमा विभिन्न गीतहरुको प्रस्तुत गरेर नाच्ने गरिएको उहाँले सुनाउनुभयो ।

आफ्नो सस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर विभिन्न साकेला सिलिहरु भाई बहिनिहरुलाई सिकाएर धरान बाहेक पुर्वका विबभिन्न ठाउँहरुमा अबको एक महिनासम्म नाच्न जाने गरेका छौँ, ।

उहाँले भन्नुभयो,
दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा बोकेर गीतमा लय मिलाउँदै नाच्ने गरिन्छ । छातीमा पेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाचि रहेको हुन्छन् ।

साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ ।

हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

साकेला एउटा अद्भुत शक्ति भएको ढुङगा जस्तै हो, कहिले ठूलो हुन्छ कहिले सानो हुन्छ । प्राकृतिक पुजक भएकाले प्रकृतिलाई पूजा गरेर साकेला नाच आजबाट सुरु भएको छ ।

उहाँले भन्नुभयो, विशेष गरी साकेला हजारौ किमिमको नाच्ने गरिए पनि अहिले मुख्य तीनवटा सिलीमा नाचिन्छ, जसमा आराथानात्मक सिलि जस्मा प्रकृतिलाई पुज्ने घाम पानी हावा हुरी, आकाश जमिनलाई पुज्ने गरिन्छ भने अनुकरण सिलीमा हाम्रा सृष्टि सँगसँगै उत्पति भएका किरा फट्याङ्रा, चराचुरुङगी झिङ्गाहरुकोे नक्कल गरी नाच्ने गरिन्छ ।
प्रतिक्रियात्मक सिलि हामीले दैनिक रुपमा गरिने कृयाकलापहरु बारी खन्ने, डोको बोक्ने, नमस्कार गर्ने जस्ता यी तीनवटा मुख्य आधारभित्र हजारौ सिलि हुन्छन् । जसमा रहेर साकेला नाच्ने गरिएको अध्यक्ष राईको भनाइ छ ।
किराँत समुदायले यस दिनलाई सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रूपमा पनि मान्ने गरेका छन् । सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण रहेको किराँत समुदाय भित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बू, लगायतका जातिहरूले यस उभौली चाडलाई महान चाडका रुपमा मनाउने गरेका छन् ।

उभौली पर्वलाई किराँत समुदायका जातीहरुले ठाउँ बिशेष र आफ्नो बोल्ने भाषा अनुसार फरक फरक नामले चिन्ने गरिन्छ । लिम्बूहरूले “चासोक” वा “यक्वा तङनाम” राई र चाम्लिङजातीले “साकेला” सुनुवारहरुले “फोलष्यादर” बान्तावाहरूले “साकेन्वा” दुमी राइृहरुले “तोसी” लगायतका इत्यादी नामहरुले उभौली चाडलाई सम्बोधन गर्ने गरेको पाइन्छ ।

बुढापाकाको भनाइ अनुसार पूर्वी पहाडी भेगमा उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान बान्तावा सिलि लाक्छाम संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष चिन्तमणि राईले बताउनुभयो । उहाँले भन्नुभयो, पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाईने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ । तर पछिल्लो समय लोभ हुदै गएको उहाँको भनाइ छ ।

पहाडी भेगमा रामनवमी सुरुभएसंगै साकेला मनाउन सुरु गरिन्छ । टोल टोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिड्ने चलन रहेको छ । यो चाडमा किरात राईहरुले पुर्खा लाई सम्झेर सिलिमार्फत सम्मान गर्ने गरिन्छ किरात राई समुदायमा पुर्खाहरुको ठूलो स्थान र महत्व छ वर्षमा दुई पटक उधौली र उभौलीमा पितृहरुको पुजा अथवा (माङ) गर्ने चलन छ ।

साकेला किरात राईहरुको पहिचानसँग जोडिएको छ , आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पुजालाई महान चाडको रुपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरु मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ । साकेला अथवा उभौली,उधौलीप्रति युवा पुस्ताको चासो बढ्दो देखिन्छ ।

उभौली साकेलाको अवसरमा, आजको दिन किराँती परम्परा अनुसार भूमि पूजन गर्ने पुरानो चलन रही आएको यस बैशाख पुर्णिमा मौसम र प्रकृति सँग सम्बन्ध राख्ने चाडको रुपमा बुझ्न र देख्न सकिन्छ । बैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरु भए पश्चात चिसो भू भागतर्फ पनि तातो हुदैँ जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिस लगायत गाई बस्तु गोठहरु पनि मास्तिर सार्ने थाल्ने चलन अहिले पनि छ ।

चिसो यामको सुरुवात संगै वासस्थान तल तिर सर्ने र तातो मौसम सुरु हुदा माथि लाग्ने जीवन शैलीको प्रतिनिधित्व तथा सम्झना गराउने यस चाडले मौसम अनुसार तल (उधो) वा (उभो) बास्थान सर्ने चलन थोरै नै भएपनि नेपालका केही भागहरुमा अझै पनि यथावत नै रहेको बुढापाखाहरुको भनाई छ ।

तराई वा मधेशतिर गर्मी बढ्दै जादा माथिल्ला पहाडी र हिमाली भूभागहरुमा समेत मौसम तातिदै जान्छ । यसरी गर्मी बढ्दै जादा वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाखाको भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ । यसै कारणले वैशाख पूर्णिमामा किराँत समुदाय द्वारा मनाइने यस चाड “उभो” शब्दबाट प्रेरित भएर “उभौली” को नामले चिनिने तथा मनाइने गरिएको भनाई छ ।

उभौली धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ । राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरु उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा उत्तिकै उल्लासमय रुपमा साकेला नाच्ने गरिन्छ ।

विशेष गरी काठमाडौँको टुँडिखेल, हात्तीवनलगायत स्थानमा साकेला भव्यताका साथ नाचिन्छ ।
चार किराँत (राई, लिम्बु, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उद्यौली मनाउने प्रचलन छ ।
किराँत जातिहरुको मागलाई सम्बोधन गर्दै सरकारले २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा घोषणा गरेको थियो भने २०५८ सालमा उधौली अर्थात् मङ्सिर पूर्णिमालाई किराँत चाड भनेर घोषणा गरिएको थियो ।

उधौली र उभौलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । सरकारले किराँत चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved