धरान/ धरानमा शिक्षक सशक्तीकरण तथा विद्यालय व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला आज सुरु भएको छ ।
कार्यशालाको पहिलो दिन ‘शिक्षक सशक्तीकरण’ मा केन्द्रित रहेको छ । उद्घाटन सत्रमा आइडियल इङ्लिस बोर्डिङ स्कुलका निर्देशक सागर खड्काले कार्यक्रमको उद्देश्य र महत्त्वबारे स्पष्ट पार्दै शिक्षा क्षेत्रमा नयाँ सोच, नयाँ अभ्यास र आधुनिक शिक्षण पद्धति अपनाउन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखे ।
उनले पहिलो दिन शुक्रबार शिक्षक सशक्तीकरण र दोस्रो दिन शनिबार विद्यालय व्यवस्थापनसम्बन्धी तालिम रहने जानकारी दिँदै शिक्षा प्रणालीलाई समयअनुसार सुधार र परिमार्जन गर्दै गुणस्तरीय बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे ।
खड्काका अनुसार कार्यशालामा पहिलो दिन सक्रिय सिकाइ, फरक–फरक क्षमता भएका विद्यार्थीलाई समेट्ने शिक्षण विधि, जिज्ञासामा आधारित सिकाइ, विद्यार्थीको सहभागिता र प्रेरणा बढाउने उपाय, मानसिक स्वास्थ्य र परामर्शका आधारभूत सिप, दण्डभन्दा सुधारमुखी व्यवहार व्यवस्थापन, प्रभावकारी प्रश्न सोध्ने र प्रतिक्रिया दिने तरिका, निरन्तर मूल्याङ्कन तथा वैकल्पिक मूल्याङ्कन प्रणाली, कक्षाकोठामा आलोचनात्मक सोच र सिर्जनशीलता विकास, साथै परियोजनामा आधारित र विज्ञान–प्रविधि–इन्जिनियरिङ–कला–गणित समेटिएको शिक्षण विधिसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ । पहिलो दिनको कार्यशालामा एक सय २० जना शिक्षकशिक्षिका सहभागी छन् ।
त्यसैगरी दोस्रो दिन विद्यालय प्रमुख तथा नेतृत्व तहका व्यक्तिहरूका लागि व्यवस्थापन तथा नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन हुनेछ ।
त्यसमा करिब ४० जना सहभागी हुनेछन् । यसमा शिक्षण नेतृत्वमार्पmत कक्षाकोठाको गुणस्तर सुधार गर्ने उपाय, विद्यार्थीको समग्र विकासलाई ध्यानमा राखेर विद्यालय सञ्चालन गर्ने तरिका, रूपान्तरणकारी नेतृत्व, सकारात्मक विद्यालय संस्कार निर्माण, अनुशासनभन्दा अपनत्व र समावेशितामा जोड दिने दृष्टिकोण एवम् सुरक्षित, सम्मानजनक र समावेशी वातावरण निर्माणजस्ता विषय समेटिनेछन् ।
कार्यक्रममा डा। श्रीकृष्ण वाग्ले र हिक्मत दाहाल प्रशिक्षकका रूपमा सहभागी छन् । उद्घाटन सत्रमा उनीहरूलाई स्वागत गर्दै आयोजकले शिक्षा क्षेत्रमा नयाँ दृष्टिकोण र व्यावहारिक ज्ञान आदानप्रदान हुने विश्वास व्यक्त गरेको छ । सहभागी शिक्षक, विद्यालय प्रमुख तथा सञ्चारकर्मीहरूको सक्रिय उपस्थितिले कार्यशालालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार यस किसिमका कार्यक्रमले शिक्षण सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउँदै विद्यार्थीलाई गुणस्तरीय, व्यावहारिक र समयसापेक्ष शिक्षा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
किक्स एजु क्लस्टर शैक्षिक समूहको आयोजना तथा धरानका आइडियल इङ्लिस बोर्डिङ स्कुल, सियोन स्कुल, के।के। स्कुल र कार्मेल स्कुलको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।