धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१६, जोरसखुवा क्षेत्रमा मध्यराति ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको छ।
मिति २०८३ साल वैशाख ७ गते राति ११:४० बजेको समयमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष अपरेशन सञ्चालन गरेको थियो।
प्रहरी टोलीले स्थानीय २० वर्षीय राहुल आचार्यको कोठामा चेकजाँच तथा खानतलासी गर्दा प्रतिबन्धित औषधी ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट गरी जम्मा १७,१५० क्याप्सुल तथा ट्याब्लेट बरामद गरेको जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा राहुल आचार्यसहित धरान–११ गोदावरी चौक बस्ने १९ वर्षीय रोहित रिजाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।