सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ।
मिति २०८३ साल वैशाख ६ गते दिउँसो ३:४० बजे लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले देवकी सरदारको घरमा छापा मारेको हो।
प्रहरीले घरभित्र सञ्चालनमा रहेको किराना पसलको कोठा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ७५.३३ केजी गाँजा बरामद गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा सोही स्थानकी ७० वर्षीया लक्ष्मी सरदार, ४२ वर्षीया देवकी सरदार तथा भारतको बिहार राज्य अररिया जिल्ला निवासी २६ वर्षीय सहवाज आलमलाई नियन्त्रणमा लिइएको छ।
सहवाज आलमले प्रयोग गर्दै आएको BR 38 AG 0559 नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।
बरामद लागूऔषध, मोटरसाइकल र पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।