धरान/ खानेपानी संकटसँग जुधिरहेको धरानमा श्रमदानबाट ल्याइएको पानीले राहत त दियो, तर अहिले यही पानीको स्वामित्व र व्यवस्थापनको विषयले नयाँ विवाद जन्माएको छ।
कोकाहा खोलाबाट स्थानीयले पसिना बगाएर ल्याएको पानी कसरी प्रयोग गर्ने भन्नेमा मतभेद देखिएको हो। निवर्तमान मेयर तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले खानेपानी बोर्डप्रति असन्तुष्टि जनाउँदै श्रमदानको सम्मान हुनुपर्ने बताएका छन्।
उनले श्रमदानका क्रममा पिउने पानीका लागि बोर्डसँग ट्यांकर माग्दा समयमै उपलब्ध नगराइएको आरोप लगाए। “मेहनतको कदर भएन,” भन्दै उनले अब श्रमदानबाट ल्याइएको पानी बोर्डको ट्यांकीमा नराखी सिधै जनतालाई वितरण गर्ने चेतावनीसमेत दिएका छन्।
श्रमदान अभियानमा सक्रिय स्थानीय अगुवाहरूले पनि “पसिनाको मूल्य हुनुपर्छ” भन्दै कुनै एक निकायको एकाधिकार स्वीकार्य नहुने धारणा राखेका छन्।
यता कार्यवाहक मेयर तथा खानेपानी बोर्डका अध्यक्ष अइन्द्र विक्रम बेघाले भने आरोप अस्वीकार गरेका छन्। उनका अनुसार समस्या जानाजान सिर्जना गरिएको होइन, प्राविधिक कारणले सामान्य ढिलाइ मात्र भएको हो। उनले खानेपानी जस्तो संवेदनशील विषयलाई अनावश्यक रूपमा विवादित नबनाउन आग्रह गरेका छन्।
धरानमा दीर्घकालीन खानेपानी समाधानका लागि सुरु गरिएको श्रमदान अभियानलाई धेरैले उदाहरणीय प्रयासका रूपमा लिएका छन्। तर अहिले यही अभियानबाट ल्याइएको पानीको व्यवस्थापनमै विवाद चर्किँदा, धरानमा नयाँ बहसको ढोका खुलेको छ।