तस्बिर - शोहन श्रेष्ठ
धरान/ धरान–काकडभिट्टा रुटमा सञ्चालन हुने एक यात्रुवाहक बसमा आगलागी हुँदा ग्यारेजमा पार्किङ गरी राखिएका अन्य बसहरूमा समेत क्षति पुगेको छ।
मंगलबार राति करिब ९ः४० बजे अटल ग्यारेजमा राखिएको बसमा अचानक आगो लागेपछि घटना भएको हो।
प्रहरीका अनुसार आगलागी बसधनी कृष्ण बुढाथोकीको को १ ख ६२७४ नम्बरको बसबाट सुरु भएको थियो। आगो फैलिँदा ग्यारेजमा राखिएका प्र १–०१–००१ ख ४०३७, को १ ख ३८४७ र बा ४ ख ५७५९ नम्बरका बसमा पनि आंशिक क्षति पुगेको छ।
बसधनी बुढाथोकीले बस ग्यारेजमा राखेर घर फर्किएको केही समयमै आगलागी भएको खबर पाएपछि तत्काल घटनास्थल पुगेको बताए।
“बस राखेर घर गएको थिएँ, केही बेरमै बसमा आगो लागेको खबर आयो। त्यसपछि हतार–हतार आएर दमकल बोलायौं र आगो नियन्त्रणमा लियौं,” उनले भने।
दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति नभए पनि एउटा बसमा ठूलो क्षति पुगेको बताइएको छ।
आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।