_रणध्वज लाेहार
धरान/ सुनसरीको धरान–६ पानबारीका १७ वर्षीय फुटबल खेलाडी गणेश लिम्बु अहिले ब्रेन ट्युमरसँग जुधिरहेका छन्। उनी हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत छन्।
बाथरुम जाँदा अचानक अचेत भएर ढलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो। आर्थिक अभावका कारण सुरुमा उनलाई अस्पताल लैजान नसकिएको परिवारले जनाएको छ।
घटनाको तीन दिनपछि पानबारी फुटबल क्लबका अध्यक्ष भूपाल राई बिरामीको अवस्था बुझ्न लिम्बुको दिदीको घर पुगेपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। त्यहाँ केही दिन उपचार गरेपछि थप उपचार सम्भव नभएपछि उनलाई काठमाडौंको वीर अस्पताल पठाइएको अध्यक्ष राईले बताए।
चिकित्सकले लिम्बुको टाउकोमा ब्रेन ट्युमर देखिएको र शल्यक्रिया गर्नुपर्ने बताएपछि उनको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। पानबारी फुटबल क्लबका अध्यक्ष राई र स्थानीय युवा मनिष लिम्बुको पहलमा देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।
हालसम्म करिब ३ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको बताइएको छ। यसैबीच विदेशमा रहेका पानबारीका मानबहादुर मगरले सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरी ५० हजार १ सय ५० रुपैयाँ बिरामीका परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष राईले जानकारी दिए।
लिम्बु पानबारी फुटबल क्लबका गोलकिपर हुन्। उनी फुटबलमा राम्रो सम्भावना बोकेका प्रतिभाशाली खेलाडीका रूपमा चिनिन्थे।
उनकी आमा बितिसकेकी छिन् भने बुबा पनि साथमा नरहेकाले दिदीहरूको सहारामा बस्दै आएका लिम्बुको उपचारमा आर्थिक समस्या देखिएको छ। त्यसैले उनको शल्यक्रिया र उपचारका लागि अझै सहयोग आवश्यक रहेको भन्दै सहयोगी मनहरूलाई आर्थिक सहयोग गर्न अपिल गरिएको छ।
पानबारी फुटबल क्लबका अध्यक्ष भूपाल राईले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उपचारका लागि थप सहयोगको अपेक्षा गरिएको बताए।