फाइल तस्बिर
धरान/प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै शानदार विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत ल्याइन्। राईले तामाङलाई ८ हजार ४९२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
त्यस्तै नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ३३१ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार २५८ मत ल्याएका छन्। अन्य उम्मेदवारमध्ये नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले १ हजार ४१९ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा ४१ मतदानस्थल र १६१ मतदान केन्द्रमा मतदान भएको थियो। कुल १ लाख ५० हजार ३ सय ९३ मतदातामध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो, जुन करिब ५८ प्रतिशत हो। तीमध्ये ८२ हजार ९८२ मत सदर भएका थिए भने ४ हजार ४८९ मत बदर भएका थिए।
सुनसरी–१ मा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाका वडा नम्बर १ देखि ५ तथा रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ समावेश छन्।
धरानका पूर्वमेयर समेत रहेका राईले नेतृत्व गरेको श्रम संस्कृति पार्टी हालै गठन भएको नयाँ राजनीतिक शक्ति हो। ‘जेनजी आन्दोलन’पछि बनेको राजनीतिक माहोललाई आधार मानेर उनले १६ कात्तिक २०८२ मा यो पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए।
पार्टीले ‘हर्कवाद’ नामक राजनीतिक अवधारणा अघि सारेको छ, जसले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलनमा आधारित विकासलाई जोड दिन्छ। श्रमदान, श्रमको सम्मान र समुदायको सक्रिय सहभागितामार्फत विकास सम्भव हुने विश्वास यस विचारको केन्द्रमा रहेको पार्टीले जनाएको छ।
धरानमा मेयर हुँदा हर्क साम्पाङले श्रमदान अभियानमार्फत पानी परियोजना र विभिन्न सामुदायिक कामहरू अघि बढाएका थिए। यही अभ्यास र विचारलाई विस्तार गर्दै उनले श्रम संस्कृति पार्टी स्थापना गरेका हुन्।
२०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो पटक सहभागी भएको यो पार्टीले प्रत्यक्षतर्फ १०९ क्षेत्रमा उम्मेदवार उठाएको थियो भने समानुपातिकतर्फ ११० जनाको बन्दसूची बुझाएको छ।