सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडामा सञ्चालित युनिभर्सल इंग्लिस सेकेन्डरी स्कुल ले आफ्नो २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक, शैक्षिक र सम्मान कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।
उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले विद्यालयको शैक्षिक उपलब्धि, सांस्कृतिक विविधता र व्यवस्थापनको भावी योजना एकैसाथ झल्काएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल गणेश भण्डारीले गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउँदै विद्यालय व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउने योजना सार्वजनिक गरे। उनले विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्ययन–अध्यापन भइरहेको जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रिन्सिपल भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रमुख अतिथिको आगमनसँगै मार्चपास, राष्ट्रिय गान र दीपप्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो।
कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले गीत, नृत्य, कविता, भाषण र नाटक प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। लिम्बु, तामाङ, थारु र नेवारी समुदायका मौलिक सांस्कृतिक नृत्यहरूले सभाहल झनै रंगीन बनेको थियो। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र अभिभावकहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको देखिन्थ्यो।
अभिभावकहरूका लागि आयोजना गरिएको म्युजिकल खेल तथा अन्य प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो भने विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक पुरस्कारबाट सम्मान गरिएको थियो। साथै उत्कृष्ट शिक्षक–शिक्षिकाका रूपमा दिपक सुवेदी, बिनिता बानियाँ र अनिता तामाङलाई सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका संस्था सञ्चालक केदार खड्का, नजराज ढकाल, सुनिल कट्वाल, जिल्ला प्याब्सन कोषाध्यक्ष गणेश निरौला, इटहरी प्याब्सन अध्यक्ष सुर्यमणि निरौला, नेपाल आर्मीका पूर्व मेजर टपिन्द्र अधिकारी, गगालाल टोल विकास समिति अध्यक्ष प्रेम लम्साललगायत विभिन्न अतिथि, अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
भव्य सहभागिता, सांस्कृतिक विविधता र शैक्षिक सम्मानका साथ सम्पन्न २२औँ अभिभावक दिवसले विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।