धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।
मिति २०८२ साल फागुन ११ गते दिउँसो करिब २/३० बजे इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १-०२-०५५ प ११३२ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ बस्ने २१ वर्षीय सिजन अधिकारी र पछाडि सवार तेह्रथुम फेदाप गाउँपालिका–३ बस्ने २० वर्षीय नविन कडेलमध्ये नविन कडेलको साथबाट ट्रामाडोल ५९० क्याप्सुल र डिकोलिक ५९० ट्याब्लेट फेला परेको हो।
प्रहरीले दुवै जनालाई लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार नियन्त्रणका लागि चेकजाँच कडाइ गरेको बताएको छ।