मध्यराति स्कोरपिओ दुर्घटना : ४२० किलो गाँजा बारमद

  • फागुन ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहानका राति करिब १ बजेतिर भएको सवारी दुर्घटनाले ठूलो लागुऔषध कारोबारको रहस्य उजागर गरेको छ ।

बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडी अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेपछि घटनास्थल पुगेको प्रहरीले गाडीभित्र लुकाइछिपाइ राखिएको ४ सय २० किलो गाँजा बरामद गरेको हो । दुर्घटनापछि चालक फरार रहेकाले खोजी तीव्र पारिएको छ भने गाडी र बरामद गाँजालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित बनेर खाल्डोमा खसेको पाइएको छ । दुर्घटनाको सूचना पाउनासाथ सीआरभी बरगाछीबाट असई सन्तोष कटवाल र वडा प्रहरी कार्यालय विराटनगरबाट इन्स्पेक्टर साजन महतरा नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा गाडी सडक छेउको खाल्डोमा अड्किएको अवस्थामा थियो । तर, चालक भने थिएनन् ।

गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा सिट र डिक्कीको भागमा प्लास्टिकले बेरेर प्याक गरिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्कोरपिओको पछाडिको सिटमुनि र डिक्कीमा छुट्टाछुट्टै पोका बनाएर गाँजा लुकाइएको थियो ।

एसपी कटवालले दुर्घटनापछि चालक फरार भएको पुष्टि गर्दै ४२० किलो गाँजा बरामद गरिएको जानकारी दिए । उनका अनुसार बरामद गरिएको गाँजा र गाडीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर विस्तृत अनुसन्धान अघि बढाइएको छ । नमुना संकलन गरी परीक्षण प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि खाल्डोमा फसेको गाडी निकाल्न जिल्ला प्रहरी कार्यालयबाट डीएसपी हरिनन्दन चौधरी नेतृत्वको थप टोली खटिएको थियो । क्रेनको सहयोगमा गाडी निकालेर सुरक्षित रूपमा प्रहरी कार्यालय पुर्याइएको छ ।

प्रहरीका अनुसार सुरक्षाकर्मीको निगरानी छल्न चालकले गाडी तीव्र गतिमा चलाउँदा दुर्घटना भएको हुनसक्छ । विशेष गरी निर्वाचन नजिकिँदै जाँदा सीमावर्ती क्षेत्रहरूमा चेकजाँच कडा पारिएको अवस्थामा तस्कर समूहले वैकल्पिक भित्री सडक प्रयोग गर्ने रणनीति अपनाउने गरेको प्रहरीको विश्लेषण छ । पुलचोक क्षेत्र मुख्य सडकबाट भित्री मार्गतर्फ जाने संवेदनशील बिन्दु मानिन्छ ।

प्रहरी स्रोतका अनुसार बरामद गरिएको गाँजा भारततर्फ कटाउने उद्देश्यले ल्याइएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, गाँजा कहाँबाट लोड गरिएको थियो र अन्तिम गन्तव्य कहाँ थियो भन्नेबारे यकिन भइसकेको छैन । गाडीको दर्ता विवरण, स्वामित्व र सम्भावित आपराधिक सञ्जालबारे अनुसन्धान सुरु भइसकेको एसपी कटवालले बताए ।

नम्बर प्लेटका आधारमा गाडीधनीसम्म पुग्ने प्रक्रिया अघि बढाइएको र चालकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मोरङमा पछिल्लो समय लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको छ । सीमावर्ती नाकाहरूमा विशेष निगरानी, भित्री सडकमा मोबाइल गस्ती र सन्दिग्ध सवारीसाधनमा आकस्मिक चेकजाँचलाई तीव्र बनाइएको एसपी कटवालको भनाइ छ । उनका अनुसार सुरक्षाकर्मी निर्वाचन तयारीमा व्यस्त भएको समयलाई तस्कर समूहले अवसरका रूपमा प्रयोग गर्ने प्रवृत्ति देखिएकाले प्रहरी सतर्कता बढाइएको छ ।

उनले संगठित गिरोह नै सक्रिय रहेको हुनसक्ने संकेत गर्दै यति ठूलो परिमाणमा गाँजा ओसारपसार हुँदा एकल प्रयास सम्भव नहुने बताए । ‘४२० किलो गाँजा सामान्य परिमाण होइन । यसको पछाडि सञ्जालगत योजना र समन्वय रहेको हुनसक्छ । हामी गाडी मालिक, चालक र सम्भावित आपूर्ति सञ्जाल सबै पत्ता लगाउने हिसाबले अनुसन्धानमा जुटेका छौं,’ उनले भने ।

प्रहरीले घटनालाई पछिल्लो समयको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । निर्वाचन लक्षित सुरक्षा रणनीतिअन्तर्गत लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको र कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने सन्देश प्रहरीले दिएको छ ।

चालकको खोजीका लागि सम्भावित रुट र सूचनाको सञ्जाल सक्रिय पारिएको स्रोतले जनाएको छ । गाँजाको नेटवर्क पत्ता लगाउन प्रहरीले सीमावर्ती क्षेत्र, पहाडी उत्पादन क्षेत्र र अन्तरजिल्ला यातायात मार्गहरूमा समेत समन्वय बढाएको छ ।

एसपी कटवालले अनुसन्धान निष्कर्षमा पुग्न केही दिन लाग्न सक्ने बताए । ‘प्रमाण संकलन, परीक्षण र सञ्जाल पहिचानको प्रक्रिया सुरु भएको छ । सबै तथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ,’ उनले भने ।

दुर्घटनामा मानवीय क्षति भएको पाइएन । ठूलो परिमाणको लागुऔषध बरामद हुनु सुरक्षाका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ । यस घटनाले मोरङमा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण रहे पनि प्रहरी सक्रियता निरन्तर बढिरहेको सन्देश दिएको प्रहरी स्रोतको भनाइ छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved