धरान/ नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विकास, सुशासन र इमानदारीमा आधारित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।
भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएका तामाङले धर्तीको पहिलो तीर्थस्थल मानिने वराहक्षेत्र मन्दिरमा पुगेर भ्रष्टाचार नगर्ने र हुन नदिने संकल्प गरेको बताएका छन्।
‘म भगवानको नाममा शपथ खाएर मैदानमा उत्रिएको हुँ। एक रुपैयाँ पनि भ्रष्टाचार गर्ने छैन, गल्ती गर्ने छैन,’ तामाङले भने। उनले पूर्व जनप्रतिनिधिहरूले गरेका कमजोरी र गल्तीहरू दोहोरिन नदिने प्रतिवद्धतासमेत व्यक्त गरे।
तामाङको चुनावी एजेन्डाको केन्द्रमा धरान–तमोर सुरुङ मार्ग रहेको छ। उनले यो परियोजनालाई सुनसरी–धरान क्षेत्रको दीर्घकालीन विकाससँग जोडिएको बहुउद्देश्यीय आयोजना रूपमा प्रस्तुत गरेका छन्। सुरुङ मार्ग निर्माणले यातायात सहज बनाउनुका साथै धरान र आसपासका पालिकाको खानेपानी समस्या समाधान, ऊर्जा उत्पादनको सम्भावना विस्तार र धरान राजमार्गमा देखिँदै आएको चाप व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
‘धरान–तमोर सुरुङ मार्ग केवल बाटो मात्र होइन, यो खानेपानी, विद्युत र समग्र आर्थिक विकाससँग जोडिएको जीवनरेखा हो,’ तामाङले भने। यस विषयमा पार्टी सभापति गगनकुमार थापासँग समेत जोडतोडका साथ कुरा उठाइसकेको उनले जानकारी दिए।
नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गुटबन्दी अन्त्य भई सुनसरी १ मा पार्टी एकतासहित चुनावी अभियान अघि बढेको दाबी तामाङले गरे। ‘अब ६०–४० छैन, यहाँ १०० प्रतिशत कांग्रेस छ,’ उनले भने। विपक्षीविरुद्ध अनावश्यक कटाक्षभन्दा शालीन र मर्यादित चुनावी शैली अपनाएको उनको भनाइ छ।
दैनिक घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका तामाङले विकास, सुशासन र नागरिक सम्मानलाई आफ्नो मूल प्रतिबद्धता बनाएको बताए। उनका अनुसार बराहक्षेत्र नगरपालिकाका वडा नं. १, २, ३, ४, ५ र ६ मा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ।
यसैबीच सुनसरी क्षेत्र नं. १ मा नेकपा, एमाले, श्रम संस्कृति पार्टीलगायत दलहरूले पनि घरदैलो तथा चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।