धरान/ याक्थुङ कला, संस्कृति र पहिचानको संरक्षणसँगै स्थानीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो याक्थुङ सिने अवार्ड अन्तर्राष्ट्रिय २०८२ आयोजना हुने भएको छ।
लिम्बु पालम, याक्थुङ म्युजिक भिडियो तथा चलचित्रलाई समेट्दै यस वर्ष अवार्डलाई अझै फराकिलो र अन्तर्राष्ट्रिय स्वरूप दिइएको आयोजकले जनाएको छ।
याक्थुङ चलचित्रकर्मी संघको आयोजनामा हुन लागेको अवार्डबारे सोमबार धरान–१२ चतरा लाइनस्थित शिखा किचनमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। संघका अध्यक्ष नवीन मेन्याङ्बोका अनुसार अवार्ड यही माघ २४ गते शनिबार धरान उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुनेछ।
अध्यक्ष मेन्याङ्बोले याक्थुङ भाषाका चलचित्रहरूले नेपाली चलचित्र क्षेत्रमा ऐतिहासिक योगदान पुर्याएको उल्लेख गर्दै विगतमा फरकधार र प्रान्तीय रूपमा हेरिने याक्थुङ चलचित्र आज व्यापक रूपमा निर्माण हुँदै आएको बताए। उनले याक्थुङ संस्कृति, कला र भित्री सौन्दर्यलाई चलचित्रको माध्यमबाट विश्वसामु चिनाउन चलचित्रकर्मीहरूलाई संगठित गर्दै लैजाने उद्देश्य रहेको स्पष्ट पारे।
अवार्ड कार्यक्रमका दौरान याक्थुङ तथा नेपाली चलचित्रबीच सहकार्य बढाउने, निर्माण–निर्देशन–अभिनयको स्तर उकास्ने, अन्तरक्रिया र बहसमार्फत चलचित्रको गुणस्तर सुधार गर्ने तथा याक्थुङ चलचित्रको प्रचार–प्रसार र बजारीकरणमा जोड दिइनेछ। साथै उत्कृष्ट चलचित्र र चलचित्रकर्मीलाई सम्मान, हौसला र प्रोत्साहन प्रदान गरिनेछ।
गत वर्ष सम्पन्न पहिलो याक्थुङ सिने अवार्डमा चर्चित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाविद् तथा कलाकार याशेली योङ्हाङ र कलाकार–निर्माता तथा संघका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्बो मुख्य जुरी टोलीमा रहेका थिए। उक्त संस्करणमा लिम्बु चलचित्र ‘चे’ सर्वोत्कृष्ट फिचर फिल्म बनेको थियो।
त्यसैगरी उत्कृष्ट निर्देशक दिनेश माङ्गमु (युक्पुङ), उत्कृष्ट नायक किशोर सम्बाहाम्फे (माङ्गेना), उत्कृष्ट नायिका बिमला खजुम (चे), नव नायक राज श्रेष्ठ (सिक्कुम), नव नायिका निसाम तुम्बापो (निसाम), चरित्र अभिनेता सिडी बेघा हाडनान्द, चरित्र अभिनेत्री डम्बर कुमारी पयाङ्बो घोषित भएका थिए।
विशेष सम्मानतर्फ सुगुप (सोदुड्ना लेम्मुहाङ अवार्ड) प्रेम सुब्बालाई, तिगेन्जङना अवार्ड मिना हुक्पा चोङवाङलाई प्रदान गरिएको थियो। सामाजिक चलचित्रतर्फ सुगुप र सामाजिक लघु चलचित्रतर्फ खोक्पा उत्कृष्ट बनेका थिए।
लघु चलचित्रतर्फ उत्कृष्ट चलचित्र खोक्पा, उत्कृष्ट निर्देशक प्रकाश लिम्बु, उत्कृष्ट नायक तिरज लिम्बु, उत्कृष्ट नायिका बिमला थोक्लिहाङ (इछिङ), उत्कृष्ट अभिनेता कर्ण सम्बाहाम्फे (इछिङ) तथा उत्कृष्ट अभिनेत्री मिना हुक्पा चोङवाङ घोषित भएका थिए।
अध्यक्ष मेन्याङ्बोको पहिलो कार्यकालमै संघले २०८० असार २ र ३ गते याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०८० आयोजना गरेको थियो।
उक्त अवसरमा चलचित्र नुमाफुङ का लेखक–निर्देशक नवीन सुब्बा अभिनन्दित भएका थिए भने उपेन्द्र सुब्बालाई फक्ताङलुङ सम्मान, सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्ड प्रदान गरिएको थियो। साथै कलाकार प्रेम सुब्बा ‘याक्थुङ वरिष्ठ कलाकार’ र किशोर सुब्बा ‘वरिष्ठ याक्थुङ चलचित्रकर्मी’बाट सम्मानित भएका थिए।