-फणिन्द्र तिम्सिना
धरान/ धरान–धनकुटा कोशी राजमार्ग अन्तर्गत धरान उपमहानगरपालिका वडा नं. १३ स्थित जिरोपोईन्ट क्षेत्र सवारी दुर्घटनाको हटस्पट बन्दै गएपछि विभिन्न राजनीतिक दल, संघ–संस्था, टोल विकास समिति तथा समाजसेवीहरूले वडा कार्यालयमा संयुक्त ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन समाधानको माग गरेका छन्।
सन् १९८२ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको धरान–धनकुटा सडक पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने एकमात्र प्रमुख मार्ग हो। दैनिक करिब ११ सयदेखि १२ सयसम्म सवारी साधन चल्ने यस सडक खण्ड साँगुरो, उकालो–ओरालो भूगोल र अव्यवस्थित बजारीकरणका कारण अत्यन्त जोखिमपूर्ण बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।
स्थानीयका अनुसार धनकुटाको भेडेटारबाट तल झरेपछि शिवधाराँ क्षेत्र प्रवेशसँगै सडक समतल हुने भएकाले चालकहरूले सवारी साधनको क्षमता र अवस्थाको मूल्यांकन नगरी तीव्र गतिमा चलाउने गरेका छन्।
प्रभावकारी ट्राफिक निगरानी र नियमनको अभावले दुर्घटना थप बढिरहेको छ। वडा नं.१३ भित्र सरकारी कार्यालय, विद्यालय, संघ–संस्था तथा मनोरञ्जन स्थलहरू रहेकाले सवारी चाप र जनघनत्वसमेत उच्च छ।
स्थानीय तथ्यांकअनुसार वि.सं, २०४५ देखि २०८२ सालसम्म जिरोपोईन्ट र आसपास क्षेत्रमा भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको र सयौं व्यक्ति घाइते भएका छन्। पछिल्ला वर्षहरूमा हरेक १–२ वर्षको अन्तरालमा ठूला दुर्घटना दोहोरिँदै आएको वडा कार्यालयले जनाएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै धरान–१३ का वडा अध्यक्ष नेत्र काफ्लेले दुर्घटना न्यूनीकरण वडा कार्यालयको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
“२०७४ सालदेखि यस क्षेत्रमा ठूला सवारी दुर्घटनाहरू पटक–पटक भइरहेका छन्।
वडा कार्यालयले ट्राफिक पोष्ट स्थापना गरी चेकजाँच गर्ने प्रयास गरे पनि दुर्घटना पूर्णरूपमा रोक्न सकिएको छैन,” उहाँले भन्नुभयो।
वडा अध्यक्ष काफ्लेका अनुसार सडक डिभिजन कार्यालयले सडकमा रङ्ग लगाउने र ‘दुर्घटना क्षेत्र’ लेखिएको बोर्ड राख्ने जस्ता सामान्य काम मात्र गरेको छ।
“दिगो समाधानका लागि आवश्यक ठोस पहल नदेखिएकामा वडा कार्यालय असन्तुष्ट छ,” उहाँले स्पष्ट पार्नुभयो।
वडा कार्यालयले आफ्नै पहलमा सम्भावित ठूलो क्षति कम गर्न एउटा खाल्डो खनी माटोको थुप्रो (डिस्को) निर्माण गरिएको जानकारी पनि अध्यक्ष काफ्लेले दिनुभयो।
“माथिबाट ब्रेक फेल भएर आउने सवारी साधनले सोही स्थानमा ठोक्किएर ठूलो जनधनको क्षति हुन नदिन यो अस्थायी उपाय गरिएको हो,” उहाँले भन्नुभयो।
पछिल्लो समयमा जिरोपोईन्ट क्षेत्रमा भएको दुर्घटनामा ५ जनाकाे निधन भएकाे छ। घाइतेमध्ये १८ महिने बालक र एक विद्यालयका कर्मचारी समेत रहेका छन्। पहाडी भेगमा सवारी चलाउने पर्याप्त अनुभव नभएका चालकले सवारी साधन न्युट्रलमा चलाउँदा ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष काफ्लेले प्राप्त ज्ञापनपत्रलाई धरान उपमहानगरपालिका, सडक डिभिजन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पठाउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा विज्ञ टोलीसँगको परामर्शमा ब्यारिकेड, हम्स (स्पिड ब्रेकर), फलामे रेलिङलगायत भौतिक पूर्वाधार निर्माण गरी दुर्घटना न्यूनीकरण गर्ने योजना रहेको जानकारी दिनुभयो।
बारम्बार दोहोरिने दुर्घटनाले स्थानीयवासी त्रसित बनेको भन्दै सरोकारवालाहरूले जिरोपोईन्ट क्षेत्रमा तत्काल र दीर्घकालीन दुवै खालका सुरक्षा उपाय अवलम्बन गर्न माग गरेका छन्।