धरान/ धरान उपमहानगरपालिकाको प्रशासनिक मर्यादा र संस्थागत प्रतिष्ठामाथि गम्भीर आँच पुर्याउने गतिविधिमा संलग्न भएको ठहर गर्दै उपमहानगरपालिकाले एक अधिकृत कर्मचारीमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंको झुटो विवरण तयार गरी गैरकानुनी तरिकाले रमाना पत्र बनाउने, प्रशासन प्रमुखको नेमप्लेट फाल्ने तथा कार्यालयमा अराजक गतिविधि गर्ने कार्यमा संलग्न रहेको आरोपमा दशौं तहकी अधिकृत कर्मचारी प्रज्ञादेवी निरौला लाई कारबाही स्वरूप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश फिर्ता पठाउने निर्णय कार्यपालिका बैठकले गरेको हो।
आइतबार बसेको कार्यपालिका बैठकले कर्मचारी आचरण विपरीत कार्य गरेको ठहर गर्दै सुशासन तथा संस्थागत विकास समितिको सिफारिसका आधारमा उक्त निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ।
घटनाक्रम अनुसार, निरौलाले गत शुक्रबार उपमहानगरपालिकाको प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाको नेमप्लेट फाल्नुका साथै टाँसिएको सार्वजनिक सूचना च्यातेकी थिइन्। साथै, बन्द रहेको प्रशासन महाशाखाको कार्यकक्षको ढोका तोडफोड गरी खोलिदिने धम्की दिँदै अशिष्ट शब्द प्रयोग गरेको समेत खुल्न आएको छ।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत चौलागाईं कामको सिलसिलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं गएको बेला निरौलाले निजको व्यक्तिगत विवरणसमेत झुटो तयार गरी अनधिकृत तथा गैरकानुनी रूपमा कार्यालयमा प्रयोग हुने लेटरप्याडमा कार्यालयको छापसँग मिल्दोजुल्दो छाप प्रयोग गरेकी थिइन्। मास सिस्टमको दर्ता–चलानी नम्बरसमेत दुरुपयोग गरी आफैं हस्ताक्षर गरेर रमाना पत्र तयार गरिएको थियो।
उक्त रमाना पत्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, काठमाडौंमा पठाइएको थियो। कार्यपालिका बैठकमा जानकारी गराइएअनुसार उक्त पत्र कार्यालय समयपछि तयार गरिएको पाइएको छ।
बैठकमा सुशासन तथा संस्थागत विकास समितिका संयोजक तथा वडा नं. १६ का अध्यक्ष मुरारी भट्टराईले आन्तरिक छानबिनका क्रममा देखिएका विषयहरू प्रस्तुत गरेका थिए भने सदस्य सचिव तथा प्रशासन महाशाखा प्रमुख वेद सापकोटाले छानबिन प्रतिवेदन पढेर सुनाएका थिए।
कार्यपालिका बैठकले निरौलाद्वारा गैरकानुनी रूपमा तयार गरी पठाइएको प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंको रमाना पत्र प्रथम दृष्टिमै बदनियतपूर्ण र गैरकानुनी भएको ठहर गर्दै बदर गर्ने निर्णय गरेको छ। साथै, रमाना पत्र बदर गरिएको विषयमा सम्बन्धित निकायसँग औपचारिक पत्राचार गर्ने निर्णयसमेत गरिएको छ।
यसैबीच, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा अम्बिका प्रसाद चौलागाईंलाई नै निरन्तरता दिने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ।
चौलागाईंको सरुवापछि आर्थिक लगायत सम्पूर्ण कामकारबाही ठप्प भएको, निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा तत्काल अर्को प्रमुख प्रशासकीय अधिकृत सरुवा भई नआउने अवस्था रहेकाले उनलाई नै निरन्तर कामकाज गर्न दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।