स्वर्णिम राई (संगिता)
धरान/ धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले पदबाट राजीनामा दिनुभएको छ ।
आज साझ धरान उपमहानगरपालीकाको कार्यलयमा आजैदेखि लागू हुने गरी उपप्रमुख अइन्द्र विक्रम बेघासमक्ष राजीनामा पेस गर्नुभएको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहनुभएका नगर प्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,धरानको विकासका लागि नै म जहाँ जाँदैछु, त्यो पनि धरानकै विकासका लागि हो । नीति निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको समग्र विकासका मुद्दा उठाउने मेरो उद्देश्य हो ।
साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।
नगर प्रमुखका रूपमा कार्यरत रहँदा उहाँले श्रमदान अभियान, सुशासन प्रवद्र्धन तथा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनुभयो।
नगर प्रमुख साम्पाङको राजीनामापछि उपप्रमुख अइन्द्र विक्रम बेघाले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर प्रमुखको पद रिक्त भएमा उपप्रमुखले कार्यवाहकका रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।