धरान/ धरानको प्रतिष्ठित फुटबल प्रतियोगिता २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप आगामी माघ २२ देखि फागुन २ गतेसम्म आयोजना हुने भएको छ।
प्रतियोगिता धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन हुनेछ।
आयोजक धरान फुटबल क्लबले बिहीबार धरान–१५ स्थित होटल मेरिकेनमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो। यस वर्षदेखि प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ, जुन अघिल्ला संस्करणमा ८ टिममा सीमित थियो।
धरान फुटबल क्लबका महासचिव नवीन राईका अनुसार प्रतियोगितामा नेपाल, भारत र भुटानका चर्चित क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टिमहरूमा
एनआरटी क्लब (काठमाडौं), चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, प्लानिङ ब्वाइज युनाइटेड, एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब (ललितपुर), झापा–११, आयोजक धरान फुटबल क्लब, साथै भुटानको रोयल थिम्पु क्लब र भारतको जर्जियन क्लब कालेम्पुङ रहेका छन्।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई होन्डा स्कुटर, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ प्रदान गरिनेछ।
गत संस्करणमा एनआरटी क्लब काठमाडौं च्याम्पियन र चर्च ब्वाइज क्लब उपविजेता बनेका थिए। आयोजक धरान फुटबल क्लब भने अहिलेसम्म पाँच पटक उपविजेतामै सीमित हुँदै आएको छ।
क्लबका अध्यक्ष प्रताप तामाङले यस वर्ष उपाधि धरानमै भित्र्याउने लक्ष्यसहित तयारी भइरहेको बताए।
अन्तर्राष्ट्रिय सहभागितासहितको यो गोल्डकपले धरानको खेल पर्यटन र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने आयोजकको विश्वास छ।