इटहरी/ सुनसरीको इटहरी–६,मा अवस्थित मोडर्न प्रिपेरेटरी माध्यमिक आवासीय विद्यालयमा मंगलबार ‘ग्राण्डपेरेंट्स डे’ भव्य रूपमा सम्पन्न भएको छ।
हजुरबुवा–हजुरआमाप्रति सम्मान, कृतज्ञता र संस्कार प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा जेष्ठ नागरिक तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्राडा। टङ्क न्यौपानेले हजुरबुवा–हजुरआमालाई समाजका जीवित पाठशालाका रूपमा उल्लेख गर्दै उनीहरूको जीवन अनुभव, संस्कार र आशीर्वाद नै बालबालिकाको सबैभन्दा ठूलो मार्गदर्शन भएको बताए। उनले आधुनिक शिक्षाले प्रविधिसँगै मानवीय मूल्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका विशिष्ट अतिथि राजेन थापाले आजको व्यस्त जीवनशैलीका कारण कमजोर बन्दै गएको पुस्ताबीचको सम्बन्धलाई यस्ता कार्यक्रमले पुनः मजबुत बनाउने उल्लेख गर्दै विद्यालयको पहल उदाहरणीय रहेको बताए।
कार्यक्रमका सभापति तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जिव वाग्लेले विद्यालय केवल पढाइको केन्द्र नभई संस्कार निर्माण गर्ने थलो भएको उल्लेख गर्दै हजुरबुवा–हजुरआमाको आशीर्वादले मात्र बालबालिकाको भविष्य उज्यालो बन्ने धारणा व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक पद्मराज सापकोटाले मोडर्न प्रिपेरेटरी स्कुलको शैक्षिक दर्शन अनुशासन, नैतिकता र उत्कृष्टतामा आधारित रहेको बताउँदै जेष्ठ नागरिकको भूमिका विद्यार्थीको चरित्र निर्माणमा अत्यन्त महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, नाटक, कविता वाचन, मार्सल आर्टको कला तथा वक्तृत्वकलाको प्रस्तुति दिँदै आफ्ना हजुरबुवा–हजुरआमाप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गरेका थिए। प्रस्तुतिले उपस्थित अभिभावक तथा जेष्ठ नागरिकहरूलाई भावुक बनाएको थियो।
‘ग्राण्डपेरेंट्स डे’ ले जेष्ठ नागरिकलाई सम्मान, अपनत्व र गौरवको अनुभूति गराउनुका साथै बालबालिकालाई पारिवारिक मूल्य, सांस्कृतिक पहिचान र मानवीय संवेदनशीलतासँग जोड्ने महत्वपूर्ण सन्देश दिएको विद्यालयले जनाएको छ।
कार्यक्रममार्फत हजुरबुवा–हजुरआमा समाजका अमूल्य सम्पत्ति हुन् भन्ने सन्देश प्रवाह गर्दै विद्यालय, परिवार र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाइएको छ।