धरान/ धरान–१२ स्थित प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका प्रमुख कार्यकारी अधिकृत (सि.ई.ओ.) अभिषेक श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
भारतको केरला राज्यस्थित कोचिमा जनवरी ६ तारिखमा सम्पन्न एसिया अवार्ड कार्यक्रमका क्रममा एसिया अवार्डका निर्देशक अबुथाएरले श्रेष्ठलाई अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन्।
उक्त कार्यक्रममा नेपालबाट पाँच जना प्रतिनिधि सहभागी रहे पनि कोशी प्रदेशबाट एक मात्र प्रतिनिधिका रूपमा अभिषेक श्रेष्ठ चयन हुनु धरान र समग्र प्रदेशका लागि गौरवको विषय बनेको छ।
कलेजको शैक्षिक उपलब्धि, उत्कृष्ट व्यवस्थापन, विद्यार्थीको नतिजा र सामाजिक योगदानलाई मूल्यांकन गर्दै आयोजक संस्थाले उनलाई यो सम्मान प्रदान गरेको जनाएको छ।
अवार्ड वितरण समारोहमा नेपाल, भारत, श्रीलंका, मौरिसस, माल्दिभ्स, मलेसिया, दुबई लगायत विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
करिब एक दशक लामो निरन्तर मेहनत र समर्पणको परिणामस्वरूप यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त भएको भन्दै सि.ई.ओ. श्रेष्ठले खुशी व्यक्त गरेका छन्।
उनले यस अवार्डले आगामी दिनमा अझ ऊर्जा, जिम्मेवारी र प्रतिबद्धताका साथ शैक्षिक क्षेत्रमा योगदान दिन प्रेरणा मिलेको बताए।
साथै उनले कलेज परिवार, विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
