धरान/ सुनसरीको रामधुनी नगरपालिकामा गाँजा बोकेको मोटरसाइकल दुर्घटनामा परेपछि ठूलो परिमाणको लागूऔषध फेला परेको छ।
दुर्घटनासँगै प्रहरीले १८ किलो हाराहारी गाँजा बरामद गर्दै दुई युवालाई नियन्त्रणमा लिएको हो।
२०८२ साल पुस २८ गते राति करिब ९ बजेर १० मिनेटमा रामधुनी नगरपालिका वडा नं.१ मा प्र.१–०४–००२ प. २२४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लडेर दुर्घटना भएको थियो।
घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का १९ वर्षीय उदय मुखिया र पछाडि सवार सोही ठाउँका १९ वर्षीय गणेश कुमार मुखिया सामान्य घाइते भएका थिए।
दुवैलाई उपचारका लागि रामधुनी मेडिकल हल, झुम्कामा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा त्यसमा राखिएका दुई वटा झोलाभित्र प्याक गरिएको अवस्थामा गाँजा फेला पारेको थियो। तौल गर्दा जम्मा १७ किलो ९ सय ६ ग्राम गाँजा रहेको पुष्टि भएको छ।
लागूऔषधसहित मोटरसाइकल समेत बरामद गरी उपचारपछि दुवै युवकलाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।