धरान/ आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा ३ हजार ५ सय ७८ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन हुने भएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ३ हजार १ सय ४९ जना र सशस्त्र प्रहरी बलका ४ सय २९ जना गरी कुल ३ हजार ५ सय ७८ म्यादी प्रहरी परिचालन गरिनेछ।
म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार भर्ना प्रक्रिया अघि बढाइएको हो। सोही अनुसार बिहीबार प्रमुख जिल्ला अधिकारी घिमिरेले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना सार्वजनिक गरेका छन्।
सूचनाअनुसार म्यादी प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सकिनेछ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले जिल्ला प्रहरी कार्यालय सुनसरी तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेटक्वार्टर सुनसरीमा दरखास्त दिन सक्नेछन्।
दरखास्त दिएका उम्मेदवारहरूको छनौट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ भने माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
छनौट भएका म्यादी प्रहरीलाई माघ १५ गतेदेखि २४ गतेसम्म तालिम दिइने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।
नियुक्ति भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ। कार्यअवधिभर प्रहरी जवानको सुरुवाती तलब स्केल बराबर ४० दिनका लागि ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक उपलब्ध गराइने सूचनामा उल्लेख गरिएको छ।