झापा/ झापा जिल्लाको कनकाई नगरपालिका–४ स्थित माई खोलाको पुल छेउमा शंकास्पद अवस्थामा कालो ब्याग फेला परेको छ । मिति २०८२/०९/१९ गते राति अज्ञात समयमा उक्त ब्याग फेला परेपछि सुरक्षाकर्मीले तत्कालै घटनास्थल सुरक्षित बनाएका थिए ।
कालो झोलाको भित्री भागबाट प्रेसर कुकरको बिड जस्तो देखिने वस्तु तथा कालो–रातो रङका तार देखिएपछि बम हुन सक्ने आशंकामा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले घटनास्थल घेराबन्दी गरी सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
घटनापछि बिहान ०७:५० बजे नेपाली सेना श्री अरिदमन गण चारआलीबाट सेनानीको कमाण्डमा बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । टोलीले बिहान १०:११ बजे उक्त ब्यागलाई नियन्त्रित रूपमा विस्फोट गराई सुरक्षित रूपमा डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
जाँचका क्रममा उक्त कालो ब्यागभित्र ‘सनातन सुरक्षा सेना नेपाल’ नाम उल्लेख गरिएको घोषणा पत्र/पर्चा–पम्फलेट ५ प्रति फेला परेको जनाइएको छ । तर, प्रेसर कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ नरहेको पुष्टि भएको छ ।
घटनाका कारण पूर्व–पश्चिम लोकमार्गको सवारी आवागमन भने दुवै तर्फबाट सुचारु नै रहेको प्रहरीले जनाएको छ । शंकास्पद ब्याग कसले र कुन उद्देश्यले राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।