सुनसरी/ इटहरी युथ ओपन क्र्युको आयोजनामा मोरङ को केराबारि को पर्यटकीय स्थल जेफालेमा दुई दिने (पौष १४ र १५ गते) ‘एक राते क्याम्प’ तथा रोभर रेन्जरहरूको पदोन्नति कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
आवश्यक पाठ्यक्रम पूरा गरेका रोभर रेन्जरहरूलाई यस विशेष कार्यक्रमका बीच पदोन्नति गरिएको हो।
जसअन्तर्गत योग्य सहभागीहरूलाई ‘पूर्ण रोभर रेन्जर’ र ‘स्क्वायर ब्याएज’ प्रदान गरियो। रोभरहरूलाई रोभर लिडर डिल्ली कुमार शर्मा र रेन्जरहरूलाई रेन्जर लिडर बन्दना दाहाल बस्नेतले दीक्षान्त तथा पदोन्नति गराउनुभएको थियो।
पदोन्नति कार्यक्रमका साथै क्र्युले सामाजिक उत्तरदायित्व अन्तर्गत जेफालेको भ्युटावर क्षेत्रमा सरसफाइ कार्यक्रम समेत सञ्चालन गरेको थियो।
अवलोकनकर्ताहरूले भ्युटावर परिसरमा जथाभावी फालेको अत्यधिक फोहोरलाई इटहरी युथ ओपन क्र्युमा आबद्ध सदस्यहरूले संकलन गरी व्यवस्थापन गरेका थिए।
जेफाले होमस्टे परिवारको आतिथ्यता रहेको थियो। कार्यक्रममा स्काउटरहरू रबिना बस्नेत र खुस्बु खड्काको पनि सक्रिय उपस्थिति रहेको थियो।
प्राकृतिक सुन्दरताको आनन्द लिँदै स्काउटिङ सिद्धान्त अनुसार अनुशासित ढंगले सञ्चालित यो क्याम्पले रोभर रेन्जरहरूको नेतृत्व क्षमता विकासमा थप मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।
क्याम्प चिफ एवं क्र्यु अध्यक्ष फणीन्द्र प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन रोभर लिडर भानु पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिका रूपमा क्र्यु सल्लाहकार एवं श्री राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सरन कुमार बस्नेत,
जेफाले होमस्टेका अध्यक्ष युवराज खड्का र जेफाले होमस्टेका सचिव एवं श्री पञ्चायत आधारभूत विद्यालयका प्रधानाध्यापक भिम ठकुरीको गरिमामय उपस्थिति रहेको थियो।