-फणिन्द्र तिम्सिना
धरान/ किरात कुलुङ जातिको सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको महान चाड मीनारी दाचाम चासुमलो निङदोङ् (चाक्चाकूर–२०८२)तथा यले दोङ्–५०८६ को अवसरमा धरान–५ देविगाउँस्थित कुलुङ संघको भवनमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना किरात कुलुङ भाषा उत्थान संघ, सुनसरी ले गरेको थियो भने संघका अध्यक्ष आईत राम राजिती ले उपस्थित सबैलाई स्वागत गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा ले चाक्चाकूर केवल कुलुङ समुदायको मात्र नभई समग्र राष्ट्रकै गौरवमय सांस्कृतिक पर्व भएको उल्लेख गर्दै संस्कृतिक पहिचान नै समुदायको मेरुदण्ड भएको बताउनुभयो।
उहाँले भाषा, लिपि र संस्कृतिको संरक्षण राज्य र नागरिक दुवैको साझा दायित्व भएकोमा जोड दिनुभयो।
उपप्रमुख बेघाले सामाजिक सञ्जालमा बढ्दो नकारात्मक संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै आपसी सम्मान र मानवीय मूल्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
साथै, स्थानीय सरकारले समुदायलाई उपलब्ध गराउने बजेट सम्मान र मायाको प्रतीक (Token of Love) भएको उल्लेख गर्दै संविधानले दिएको अधिकार प्रयोग गर्दै थप अधिकारका लागि समुदाय एकजुट हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका विशेष अतिथि धरान–४ का वडा अध्यक्ष धनबहादुर राई ले शीतलहर र प्रतिकुल मौसमका बाबजुद कुलुङ समुदायको उल्लेखनीय सहभागिताको प्रशंसा गर्नुभयो। उहाँले मोरङ, झापा र इलामलगायत विभिन्न जिल्लाबाट समुदायको उपस्थिति रहेको जानकारी दिँदै, कार्यक्रमसँगै सम्पन्न रक्तदानलाई ‘जीवन दान’ को संज्ञा दिनुभयो।
वडा अध्यक्ष राईले पुर्खाले जगेर्ना गर्दै आएको भाषा र संस्कृति संरक्षण नगरे जातिको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिँदै सांस्कृतिक नृत्य चाक्चाकूर (साकेला) मार्फत कृषि सभ्यताको सुन्दर चित्रण प्रस्तुत गरिएको उल्लेख गर्नुभयो।
पुस १५ गते बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा रक्तदान, जेष्ठ नागरिक तथा नव प्रतिभा सम्मान, पारम्पारिक कुलुङ नृत्य प्रस्तुति तथा परम्परागत खानपान र अर्गानिक जाँडको व्यवस्था गरिएको थियो।
शीतलहरका बाबजुद युवादेखि जेष्ठ नागरिकसम्मको बाक्लो उपस्थितिले कुलुङ समुदायको संस्कृतिप्रतिको प्रेम, एकता र पहिचानप्रतिको दृढ संकल्पलाई पुनः पुष्टि गरेको छ।