धरान/फङ्क फ्युजन डान्स एकेडेमीको आयोजनामा भइरहेको धरान स्कुल डान्सिङ स्टार सिजन–३ अन्तर्गत दोस्रो चरणको कल्चर राउन्ड अडिसन सम्पन्न भएको छ।
अडिसनबाट ४१ जना प्रतियोगीहरू आगामी चरणका लागि छनोट भएका छन्।
विद्यार्थीहरूको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगिताको कल्चर राउन्डमा सहभागीहरूले नेपाली मौलिक संस्कृति, परम्परा र पहिचान झल्कने नृत्य प्रस्तुत गरेका थिए। यस चरणको निर्णायकको भूमिकामा सुरेश राई रहेका थिए।
फङ्क फ्युजन डान्स एकेडेमीका सञ्चालक सागर राईका अनुसार प्रतियोगिता चार चरणमा सञ्चालन हुने छ । जसअन्तर्गत अडिसन राउन्ड र कल्चर राउन्ड सम्पन्न भइसकेका छन् भने अब मोडर्न राउन्ड र त्यसपछि फाइनल चरण आयोजना गरिनेछ। प्रत्येक चरणबाट उत्कृष्ट प्रतिभाहरू छनोट हुँदै जाने उनले जानकारी दिए।
यस्तै, विभिन्न कारणले कल्चर राउन्ड अडिसनमा सहभागी हुन छुटेका प्रतियोगीहरूका लागि आगामी शनिबार पुनः कल्चर राउन्ड अडिसन आयोजना गरिने आयोजकले जनाएको छ। उक्त अडिसनमा छुटेका प्रतियोगीहरूले सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगिताको फाइनल चरणका विजेताले रु. २० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। यस्तै प्रथम उपविजेताले रु. १५ हजार र दोस्रो उपविजेताले रु. १० हजार नगदसहित ट्रफी र मेडल पाउने व्यवस्था गरिएको छ।