सुनसरी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच ‘बृहत् एकता’ सम्बन्धी महत्वपूर्ण सहमति भएको छ ।
आइतबार सम्पन्न सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापतिका रूपमा रवि लामिछाने नै कायम रहने छन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने भएको छ ।
रास्वपा र बालेन शाहबीच सहकार्य र एकताका विषयमा लामो समयदेखि संवाद चल्दै आएको थियो ।
विशेषगरी गत सोमबारदेखि दुवै नेताबीच निरन्तर भेटघाट र छलफल हुँदै आएको थियो । औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिकोण, नेतृत्व संरचना र भावी कार्यदिशाबारे गहिरो विमर्श भएपछि अन्ततः यो ऐतिहासिक सहमतिमा पुगिएको हो ।
सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै, भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले उठाएका आवाजलाई संस्थागत रूपमा अघि बढाउने निर्णय गरिएको छ ।
विशेषगरी भदौ २३ र २४ मा सम्पन्न जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका माग र चेतनालाई राजनीतिक रूपमा रूपान्तरण गर्ने सहमतिमा उल्लेख गरिएको छ ।