हिबिस्कस इङलिस स्कुलको बार्षिकोत्सव भव्य रूपमा सम्पन्न उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, पत्रकार जनकरिषी राईसहित पाँच जना सम्मानित
- पुस ११, २०८२
- कोशीपत्र/संवाददाता
धरान/ धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको बार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार स्कुलको प्राङ्गणमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
स्कुलका निर्देशक गङ्गाराम राईको अध्यक्षता तथा संविधान सभाका सदस्य किरण कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान–१५ का वडाध्यक्ष, शिक्षाविद्, समाजसेवी, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा गत शैक्षिक सत्रको वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा–९ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। पुरस्कार प्रमुख अतिथि, विशेष अतिथि तथा स्कुल व्यवस्थापन पक्षले प्रदान गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि किरण कुमार राईले अभिभावकहरूले आफ्ना छोराछोरीले कस्तो शिक्षा लिइरहेका छन् भन्ने विषयमा निरन्तर चासो राख्नुपर्नेमा जोड दिए। धरान–१५ मै रहेर हिबिस्कस स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे।
त्यस्तै ब्लड फर निडका केन्द्रीय कोषाध्यक्ष प्रकाश गिरिले रक्तदानले जीवन बचाउन सकिने बताउँदै अभिभावकहरूलाई नियमित रक्तदान गर्न आग्रह गरे। धरान–१५ का वडाध्यक्ष इबारमले हिबिस्कस स्कुल शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहेको बताए।
अभिभावकको तर्फबाट बबिना राईले मन्तव्य राखेकी थिइन्। स्कुलकी प्रिन्सिपल पार्वती लिम्बुले स्वागत मन्तव्य व्यक्त गरिन् भने प्राइमरी इन्चार्ज गीता राईले स्कुलको प्रगतिको पछाडि अभिभावकहरूको ठूलो योगदान रहेको बताउँदै धन्यवाद ज्ञापन गरिन्।
कार्यक्रममा धरान इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नेत्र जिमी, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन शिक्षक नयनराज राई तथा विद्यार्थीहरूले संयुक्त रूपमा गरेका थिए।
बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले गीत, नृत्य, र्याम्प वाक र फेसन शो प्रस्तुत गर्दै उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

पत्रकार सहित पाँच जना सम्मानित
बार्षिकोत्सवकै अवसरमा सञ्चार तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै पाँच जना व्यक्तित्वलाई सम्मान गरिएको छ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका निबर्तमान अध्यक्ष जनकरिषी राईलाई सञ्चार क्षेत्रमार्फत स्कुलको प्रचार–प्रसारमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान गरिएको हो। त्यसैगरी समाजसेवी कान्तादेवी श्रेष्ठ, ब्लड फर निडका केन्द्रीय कोषाध्यक्ष प्रकाश गिरि, श्याम चोक युवा समाजका अध्यक्ष ललित योन्जन तथा श्याम चोक अस्थायी प्रहरी चौकीका इन्चार्ज गुलावचन्द सरदार पनि सम्मानित भएका छन्।
सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि किरण कुमार राई, स्कुलका निर्देशक गङ्गाराम राई तथा भाइस प्रिन्सिपल विजय सिंह थेबेले दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरेका थिए।