विराटनगर/मोरङ उद्योग व्यापार संघको आयोजनामा ‘विराट ट्रेड एक्स्पो–२०२५’ आज (बुधबार)देखि विराटनगरमा सुरु हुँदैछ ।
११ दिनसम्म सञ्चालन हुने एक्स्पोका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तथा व्यवस्थापकीय तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मंगलबार एक्स्पो स्थलमै आयोजित पत्रकार सम्मेलनमा एक्स्पो संयोजक अमितकुमार शारदाले स्वदेशी तथा विदेशी गरी कुल २३० वटा स्टल रहने जानकारी दिए । यसपटक तीनवटा ठूला ह्याङ्गर (डोम) भित्र २०० भन्दा बढी स्टलहरू निर्माण गरिएको छ ।
प्रदर्शनीमा कृषिजन्य उत्पादन, औद्योगिक सामग्री, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसम्बन्धी सामग्रीहरू राखिनेछन् । नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि एक्स्पोमा समेटिनेछन् ।
व्यापारसँगै ज्ञान र सीप आदानप्रदानलाई पनि प्राथमिकता दिइएको एक्स्पोमा लगातार ८ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई (कृत्रिम बुद्धिमत्ता), सूचना प्रविधि र नयाँ कर प्रणालीलगायत समसामयिक ९ विषयमा ‘थिमेटिक सेसन’ तथा सेमिनार सञ्चालन हुनेछन् ।
यसका लागि आइडिया स्टुडियो र स्विस कन्ट्याक्टजस्ता संस्थाहरूले सहकार्य गरेका छन् ।
मनोरञ्जनतर्फ यसपटक थप आकर्षणहरू समावेश गरिएको छ । पहिलोपटक ‘जलपरी’ प्रदर्शनी, ओपेरा हाउस, थ्री–डी सेल्फी जोन र बाल उद्यानको व्यवस्था गरिएको छ । साथै, ‘विराट भोइस’ गायन प्रतियोगिता आयोजना गरिने र विजेतालाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक शारदाले बताए ।
एक्स्पो अवधिभर कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब र स्वप्न सुमनलगायत चर्चित राष्ट्रिय कलाकार तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुति रहनेछ ।
आर्थिक मन्दीका कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित आयोजना गरिएको एक्स्पोमा करिब २ लाख दर्शकले अवलोकन गर्ने र २० देखि २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा मोरङ घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरोला, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारा, नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ तथा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाललगायतले एक्स्पोलाई सफल बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै विद्यालयको पोशाक र परिचयपत्रसहित दिउँसो १ बजेभित्र आउने विद्यार्थी तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
विराटनगरको पहिचान प्रवर्द्धन र आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको यो बृहत् मेला पुस १९ गतेसम्म चल्नेछ ।
