धरान औद्योगिक क्षेत्रको ५४औँ वार्षिकोत्सव सम्पन्न

  • मंसिर २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फणीन्द्र तिम्सिना

धरान/ धरान औद्योगिक क्षेत्रले शुक्रबार ५४औँ वार्षिकोत्सव मनाएको छ।

वि.सं. २०२९ मा भारत सरकारको सहयोगमा स्थापना भएको धरान औद्योगिक क्षेत्र आज देशका १० औद्योगिक क्षेत्रमध्ये एक भए पनि, उद्योग विस्तारका लागि जग्गा अभाव, पूर्वाधार सीमितता र नीतिगत जटिलता मुख्य चुनौतीका रूपमा देखिएका छन्।

२०२ रोपनी क्षेत्रफलमा फैलिएको धरान औद्योगिक क्षेत्र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, धरान बजार र मदन भण्डारी राजमार्गले घेरिएको स्थानमा अवस्थित छ।

स्थापना भएको पाँच दशक नाघ्दा पनि अपेक्षित औद्योगिक विकास हुन नसकेको स्वीकारोक्ति स्वयं व्यवस्थापन पक्षले गरेको छ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड  का महाप्रबन्धक पदम ओलीले औद्योगिक क्षेत्र व्यवस्थापन अब कडाइका साथ कानुनी प्रक्रियामा अघि बढ्ने स्पष्ट पारे।

उनले विगतमा ‘कागजको सानो चिटमा लेखेर काम गर्ने चलन’ अब समाप्त भएको उल्लेख गर्दै भने,

“अहिले नियम बनेपछि हामी कानुन बाहिर जान सक्दैनौँ। उद्योगी–व्यवसायी पनि नियमअनुसार काम गर्न अभ्यस्त हुनुपर्छ। सुरुमा केही जटिल लाग्न सक्छ, तर अब कानुनबिनाको प्रक्रिया अघि बढ्दैन।”

महाप्रबन्धक ओलीले कोशी प्रदेशको औद्योगिक इतिहास स्मरण गर्दै विराटनगर जुट मिलदेखि दमकमा प्रस्तावित २,१०० बिघा क्षेत्रफलको औद्योगिक क्षेत्रबारे जानकारी गराए।

उनका अनुसार तीमध्ये १,७०० बिघा जमिन आईडीएमएलको नाममा आइसकेको छ भने ९४२ बिघामा चिनियाँ लगानीमा बन्ने औद्योगिक पार्क विभिन्न कारणले वर्षौँदेखि रोकिएको छ।

“रोकिएको काम अघि बढाउन हामीले ‘या त बनाऊ, नत्र छोडेर जाऊ’ भन्ने स्पष्ट सन्देशसहित पत्र पठाएका छौँ,” ओलीले भने, “त्यो पत्र बेइजिङदेखि परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालय सिंहदरबारसम्म पुगेर उच्चस्तरीय छलफल गर्नुपर्‍यो।”

उनले किसानले क्षतिपूर्ति लिएर छोडेको जमिनमा उद्देश्यअनुसार उद्योग नबनेको अवस्थामा जग्गा फिर्ता गर्नुपर्ने माग तीव्र बन्दै गएकोसमेत बताए।

धरान औद्योगिक क्षेत्रभित्र हाल ३५ उद्योग दर्ता रहेकामा ३१ उद्योग सञ्चालनमा छन्।

३ उद्योग बन्द अवस्थामा छन् भने १ निर्माणाधीन छ। यहाँ प्लास्टिक, एचडिपिई, पिभिसी, पोलिथिन पाइप, तामा–पित्तल–एलुमिनियमका भाँडावर्तन, ग्रिल–सटर, चामल, कत्था, सोयावडी, दुग्धजन्य तथा औषधिजन्य वस्तु उत्पादन हुँदै आएको छ।

करिब १,००० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ८०० पुरुष र २०० महिला छन्।

उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठले धरानमा रहेका महत्त्वपूर्ण सरकारी कार्यालयहरू जग्गा अभावका कारण अन्यत्र सारिने जोखिम बढेको बताए।

उनले अस्थायी रूपमा धरान ट्राफिक प्रहरी कार्यालयलाई औद्योगिक क्षेत्रभित्रै जग्गा उपलब्ध गराउन आग्रह गरे। साथै, उद्योग सञ्चालनका लागि सहज वातावरण निर्माणमा जोड दिए।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले औद्योगिक क्षेत्रसँग सम्बन्धित सूचना सञ्चारमाध्यमलाई समयमै उपलब्ध गराउन आग्रह गर्दै उद्योग प्रगति र सरोकारवाला संस्थाबीच सहकार्य मजबुत हुनुपर्ने बताए।

वार्षिकोत्सवका अवसरमा कमला पोलिथिन इण्डस्ट्रीज, सिद्धि विनायक घरेलु उद्योग र धरान स्टिल फेब्रिकेटर्स वर्क्सलाई उत्कृष्ट उद्योगका रूपमा सम्मान गरिएको थियो।

त्यसैगरी धरान शाखाका सहायक प्राविधिक संगीत ढकाल, इन्जिनियर सविव नदाफ, कर्मचारी सुलभ थापा मगर, सुरक्षा गार्ड प्रमुख बलराम राई तथा सुरक्षा गार्ड शेरबहादुर प्रधान र रामबहादुर श्रेष्ठलाई नगदसहित सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड धरान शाखाका प्रमुख जीव नारायण बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योगी–व्यवसायी, कर्मचारी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

पर्यटन, शिक्षा र स्वास्थ्यको केन्द्रका रूपमा परिचित धरानमा औद्योगिक क्षेत्र अझै अपेक्षित रूपमा फस्टाउन नसकेको भए पनि, कानुनी अनुशासन, स्पष्ट नीति र जग्गा व्यवस्थापन गर्न सकिए धरान औद्योगिक क्षेत्र कोशी प्रदेशकै प्रमुख औद्योगिक केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved