धरान/सुनसरी जिल्ला अन्तरविद्यालयीय सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक टिम सुनाखरी रेड ले रोमाञ्चक जीतसहित हात पारेको छ।
एन्फा टेक्निकल सेन्टरमा बुधबार सम्पन्न फाइनलमा सुनाखरी रेडले नेपाल पुलिस स्कुललाई ट्राइबेकरमा ३–२ ले हराउँदै पहिलो संस्करणको च्याम्पियन बनेको हो।
कडा प्रतिस्पर्धासहित ट्राइबेकर पुगेको खेलमा सुनाखरी रेडका एलिन थापा मगर, श्रीहाङ राई र प्रनिस राईले निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाए। ट्राइबेकरमा अनिस गुप्ता र राजेश ओझाको प्रहार बाहिरिए पनि सुनाखरीको जित रोकिएन।
उपाधिसँगै विजेता टिमले नगद ५० हजार, उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजार पुरस्कार प्राप्त गर्यो। खेलमा पुलिसका अनुराग राई र समिर राईले गोल गरे पनि जोनिस राई, उज्जवल थापा र कृष्ण राईको प्रहार असफल भएपछि उनीहरू उपविजेतामा सीमित भए।
फाइनलको म्यान अफ द म्याच पुलिस स्कुलका कृष्ण राई घोषित भए। व्यक्तिगत विधामा भने सुनाखरी रेडले वर्चस्व जमायो—
बेष्ट गोलकिपर: रोजेश ओझा
बेष्ट डिफेन्डर: करण थापा
बेष्ट कोच: इन्दु रसाइली
हाइस्कोरर: श्रीहाङ राई
यी सबैले जनही २५०० रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाए।
त्यसैगरी बेष्ट फरवार्ड पुलिस स्कुलका समिर राई घोषित भए। फेयर प्ले टिमको सम्मान प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ ले हात पार्यो र नगद ५ हजार प्राप्त गर्यो।
सुनाखरीका एलिन थापा मगर प्रतियोगिताका बेष्ट प्लेयर घोषित भए।
पहिलो र दोस्रो सेमिफाइनल विजेता सैनिक आवासीय विद्यालय र ज्वालामुखी माविले जनही ५/५ हजार सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे विजेता स्कुललाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा)का मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष किशोर राई,फुटबल संघ सुनसरीका अध्यक्ष नबिन राई, धरान ११का वडाध्यक्ष लोकेन्द्र फागो, सुनाखरीका प्रिन्सिपल मिलन राई, प्लस टु संयोजक तप कुमार राई लगायतले नगद पुरस्कार,ट्रफि मेडल प्रदान गरेका थिए ।
प्रतियोगिता अवधिभर उत्कृष्ट समाचार लेख्ने र्याडिकल लाइट अनलाइनका सम्पादक तिर्थ काकीलाई नगद १० हजार र प्रशंसापत्रसहित सम्मान गरिएको छ।