धरान/ धरान–१८ मा अवस्थित एक मात्र साझा धार्मिक तथा सांस्कृतिक सम्पदा देवीथानको संरक्षणका लागि सक्रिय देवीथान संरक्षण समितिले आफ्नो १९औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ।
अधिवेशनले पुनः रेवती रमण राईलाई सर्वसम्मतरुपमा समितिको अध्यक्ष चयन गर्दै उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
उपाध्यक्षमा ज्योति राई, सचिवमा खेमराज राई, सहसचिवमा सुमेश पोख्रेल, कोषाध्यक्षमा टंकमाया लिम्बु चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा दिवन राई, सिता (राना) राई, संगिता राई, दुर्गाप्रसाद राई, निर्मल राई, क्याप्टेन कुविरजङ्ग राई, सरिता गोतामे र किरण खराल रहेका छन्।
अध्यक्ष राई समितिको तेस्रोपटक नेतृत्वमा पुगेका हुन्। यसअघि उनले एक कार्यकाल सचिव र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
सभाको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर ऐन्द्रविक्रम बेघाले पानसमा दियो बालेर गरेका थिए।
कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकार तथा पूर्वमेयर तिलक राई, वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविण), सल्लाहकार जसोदा राई लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिए।
देवीथान संरक्षण समितिको स्थापना तत्कालिन कोषाध्यक्ष हुँदै अध्यक्ष बनेका स्व. मानबहादुर राईले २०५५ सालमा गरेका थिए। बढ्दो शहरीकरणबीच पनि वडावासीकाे साझा सम्पदा सुरक्षित रहोस् भन्ने उद्देश्यले स्थापना गरिएको यो संस्थाले हाल २ कट्ठा १८ धुर क्षेत्रफलमा बहुउद्देश्यीय भवन निर्माण गरिसकेको छ।
यही भवनभित्र वडा कार्यालयदेखि विभिन्न संघ–संस्थाका गतिविधीसम्म सञ्चालन भइरहेका छन्।
वडाध्यक्ष नरेन्द्र कुमार राईका अनुसार केही वर्षअघि भवन निर्माणका लागि १८ नं. वडावासीले जनही ३००० रूपैयाँ सहयोग गरेका थिए। अहिले देवीथान संरक्षणका लागि वडाबाट ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ भने उपमहानगरपालिकाले बृद्ध–बृद्धा आश्रम निर्माणका लागि ३५ लाख बजेट छुट्याएको जानकारी पनि उनले दिए।
देवीथानलाई धरान–१८ को सांस्कृतिक मुटु मानिने भएकाले समितिको यो अधिवेशनले संरक्षण र प्रवर्द्धनका आगामी योजनालाई अझ सुदृढ बनाएको स्थानीयको प्रतिक्रिया छ