सुनसरी/ जेनजी आन्दोलनपछि सामान्य अवस्था फर्किएको सुनसरीमा उद्योगी–व्यवसायीलाई निश्चिन्त भएर उद्योग–व्यवसाय सञ्चालन गर्न जिल्ला प्रशासन प्रमुख बासुदेव घिमिरेले आह्वान गरेका छन्।
आन्दोलनका कारण उत्पन्न अस्पष्ट वातावरण अब दोहोरिन नदिने विश्वास दिलाउँदै उनले व्यवसायिक गतिविधि आत्मविश्वासका साथ अघि बढाउन आग्रह गरे।
बुधबार सुनसरी उद्योग वाणिज्य संघ, धरानले आयोजना गरेको ‘स्वागत तथा फेरि भेटौँला–शान्ति सुरक्षा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै घिमिरेले आन्दोलन र अपराधबीच स्पष्ट भिन्नता रहेको बताए। उनले आन्दोलनको नाममा अपराध गर्ने तीन जनालाई पक्राउ गरिसकेको जानकारी दिंदै, “अपराधलाई कानुनले नै सोध्छ, आन्दोलनको आडमा उन्मुक्ति हुँदैन,” भनाइ राखे।
घिमिरेका अनुसार जेनजी आन्दोलनले केही समय उद्योग–व्यवसायमा मनोवैज्ञानिक प्रभाव पारे पनि अब वातावरण स्थिर भइसकेकाले डर–त्रास त्यागेर आफ्नो व्यवसायिक जिम्मेवारीमा फर्किनुपर्ने समय आएको हो। उनकाे भनाइमा— “यदि ध्वाँध्वाँगीकै कारण व्यवसाय थामिएर बसियो भने भोलि पछुताउनु पर्छ। अब त्यस्तो हुँदैन भनेर अगाडि बढ्नुस्।”
उनले प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते अवश्य हुने विश्वास दिलाए। सुरक्षाका सबै तयारी आवश्यकताअनुसार अगाडि बढिरहेको पनि उनले जानकारी गराए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले उद्योगी–व्यवसायी तथा सर्वसाधारणको सुरक्षाका लागि प्रहरी संगठन कटिबद्ध रहेको बताए। समस्याहरू समन्वय र छलफलबाटै समाधान गर्न सकिने बताउँदै उनले सबै स्टेकहोल्डरको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
अन्तरक्रिया तथा स्वागत कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठलाई संघका अध्यक्ष गोपाल श्रेष्ठले खदा र मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरे।
कार्यक्रममा धरान मोबाइल संघका अध्यक्ष जीवन शाक्य, हार्डवेयर व्यवसायी तथा संघका सचिव नविनराज भण्डारी, वरिष्ठ पत्रकार हर्ष सुब्बा, होटल व्यवसायी सौरभ श्रेष्ठलगायतले आफ्ना व्यवसायिक तथा समसामयिक समस्याहरू प्रस्तुत गरेका थिए। संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रधानले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए।