झापा/ झापामा निर्माण भइरहेको सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजनाले झापालाई देशकै दोस्रो ठूलो इन्धन हबको रूपमा स्थापित गर्ने संकेत देखिएको छ।
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालले परियोजना सम्पन्न भएपछिको इन्धन आपूर्ति पूर्ण सुरक्षित हुने र नाकाबन्दी तथा हड्ताल जस्ता परिस्थितिले अब देशमा इन्धन अभाव नल्याउने दाबी गरेका हुन्।
मेचीनगर नगरपालिकाले सोमबार आयोजना गरेको ईआइएसम्बन्धी सर्वदलिय वैठकमा बोल्दै बरालले भारतको सिलीगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन विस्तारको तयारी तीव्र गतिमा भइरहेको बताए।
सिलीगुडीदेखि मेची पुलसम्म ३६ किलोमिटर र मेची पुलदेखि चारआलीसम्म १४ किलोमिटर पाइपलाइन बिछ्याइनेछ। चारआलीमा निर्माणाधीन ग्रिन फिल्ड टर्मिनलमा १.५ मिलियन लिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता रहनेछ र एउटा ट्यांकरले २० हजार लिटर इन्धन २० मिनेटमै लोड गर्न सक्ने सुविधा रहनेछ।
उन्नत प्रविधिबाट पेट्रोल, डिजल र मट्टितेल एउटै पाइपलाइनमार्फत प्रवाह हुने बताइँदै, परियोजनाको सुरक्षा निगरानी नेपाली सेना, निगमका कर्मचारी तथा जीपीएस प्रविधिबाट गरिने बरालले जानकारी दिए। उनका अनुसार नेपाल वा भारत दुबै देशमा हड्ताल वा आपतकालीन अवस्था आए पनि पाइपलाइनमार्फत इन्धन आपूर्ति अवरुद्ध नहुनेछ।
भारत सरकारको ६ अर्ब ८६ करोड ४० लाख रुपैयाँ अनुदानमा निर्माण भइरहेको यो परियोजनामा मेचीनगरका ६, ७, ८, १०, १३ र १४ नम्बर वडाका केही स्थानमा पाइपलाइन विस्तार हुनेछ। मेचीनगर–१३ को २३ विघा ३ कठ्ठा १३ धुर जग्गामा विशाल भण्डारण संरचना निर्माण भइरहेको छ।
यसबीच, केही स्थानीयको जग्गा छोएको भन्दै कोशी प्रदेशसभा सदस्य सविना बजगाईले मुद्दा अदालतमा विचाराधीन रहेको जानकारी दिँदै परियोजनामा पुनर्विचार गर्न माग गरिन्। बरालले विवादित स्थानमा संरचना निर्माण नगरी अदालतको निर्णयअनुसार अघि बढ्ने स्पष्ट पार्दै परियोजना प्रभावित नहुने बताए।
सार्वजनिक सुनुवाइमा सांसद, स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरूको सुझाव संकलन गरिएको थियो। निगमका प्रतिनिधिहरू—नायव कार्यकारी निर्देशक दीपक बराल, इन्जिनियर वीनितमणि उपाध्यय, प्रोजेक्ट म्यानेजर सुरेन्द्र महतो र वातावरणीय विज्ञ रामकुमार तामाङले प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरिने जनाए। कार्यक्रमको सहजीकरण हवाई इन्धन डिपो भद्रपुरका प्रमुख सन्दिप रिमालले गरेका थिए।