सुनसरी/ विशेष सूचनाका आधारमा बराहक्षेत्रमा प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद भएको छ। मिति २०८२ मंसिर ५ गते राति १२:३० बजे, बराहक्षेत्र–३ नडाहा चौकमा लागू औषध ओसारपसार भइरहेको खबर प्राप्त भएपछि अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले BR 11 BF 0189 नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा राखिएको दुईवटा प्लास्टिकको बोरा खोलेर हेर्दा ४१.५ किलोग्राम (एकचालिस किलो पाँच सय ग्राम) गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त लागूऔषधसहित मोटरसाइकल चालक सप्तरी–२ राजविराजका १८ वर्षीय लालदेव रजकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरी लगिएको छ।
प्रहरीका अनुसार घटनाबारे विस्तारमा अनुसन्धान जारी छ।