फाईल तस्बिर
झापा/ झापामा भदौ २४ गते जेनजि आन्दोलनका क्रममा प्रहरी कार्यालयमाथि भएको आगजनी र तोडफोड प्रकरणमा संलग्न रहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये बिर्तामोडबाट १६ जना र दमक क्षेत्रबाट १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अस्थायी प्रहरी चौकी गरामनीमा आगजनी तथा तोडफोड गरेको आरोपमा बिर्तामोड–८ गरामनीका ३६ वर्षीय गङ्गाराम लिम्बू र बिर्तामोड–७ मुसहर डाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बूलाई प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।
यसअघि पनि बिर्तामोड प्रहरीले छुट्टाछुट्टै स्थानबाट १४ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामाथि अभद्र व्यवहार, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव तथा हतियार–खरखजना मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यता इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेका १३ जनामध्ये ३ जना नाबालक रहेका छन् भने बाँकीको उमेर १९ देखि ३४ वर्ष बीचको छ।
भदौ २४ पछि जेनजि आन्दोलनसँगै हिंसात्मक गतिविधि बढ्दै गएपछि झापाको सुरक्षा व्यवस्था कडाइ गरिएको प्रहरी स्रोतले जनाएको छ।