काठमाडौँ/ सोमबार मध्यराति एकाएक ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीहरुले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेका छन्।
निकटस्थ सहयोगीका अनुसार, सुतिरहेको अवस्थामा नै मध्यराति प्रहरी टोली प्रसाईंको घर पुगेको थियो। घरभित्र प्रवेश गरेर कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको एक प्रहरी अधिकृतले पुष्टि गरेका छन्।
पक्राउ गर्ने क्रममा निवास परिसरमै खिचिएको एक भिडियो पनि सार्वजनिक भएको छ। उक्त भिडियोमा प्रसाईं आफैँलाई गाडी चढ्दै गरेको दृश्य खिच्न कसैलाई आग्रह गरिरहेको सुनिन्छ, जसले घटनालाई झनै चर्चामा ल्याएको छ।
प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गर्दै आएका थिए। सम्भावित हिंसा भड्कनसक्ने आशंकाका कारण उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
यता, प्रसाईं पक्राउपछि काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाइएको छ। मंगलबार बिहानदेखि समर्थकहरूले विरोध प्रदर्शन गर्न सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले राति नै मातहतका सबै युनिटमा सर्कुलर जारी गरेको उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्।
मध्यराति भएको यो गिरफ्तारीले राजनीतिक तरंग थपिएको छ भने आगामी दिनमा उपत्यकाको सुरक्षा माहोल झनै कठोर हुनसक्ने आँकलन भइरहेको छ।