काठमाडौं/ प्रतिनिधिसभा विघटनलाई “प्रतिगामी कदम” भन्दै विरोधमा उत्रिएको नेकपा (एमाले) ले आज देशभरका ७७ वटै जिल्लामा एकैसाथ जनप्रदर्शन र जनसभा गर्दैछ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेले चरणबद्ध जनपरिचालनलाई आज देशव्यापी बनाएको हो।
एमालेले यसअघि नै वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय तहसम्म जनआन्दोलन विस्तार गर्ने निर्णय गरेको थियो।
सोही अनुसार भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन, तोडफोड–लुटपाट–आगजनीमा संलग्न दोषीमाथि कारबाही र संसद् पुनःस्थापनाको माग राख्दै देशभर विरोध कार्यक्रम चलाइरहेको छ।
कार्तिक २५ मा स्थानीय तहस्तरबाट सुरु गरिएको प्रदर्शनलाई आज एमालेले ७७ जिल्लामा एकैसाथ प्रभावशाली रूपमा विस्तार गरेको छ।
यससँगै पार्टीले मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गर्ने घोषणा गरेको छ। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै एमालेले मंसिर २ मा संसदीय दलको बैठकसमेत बोलाएको छ, जहाँ संसद् पुनर्स्थापनासहित आगामी राजनीतिक रणनीति तय गरिने बताइएको छ।
यसैबीच सरकारले आगामी फागुन २१ गते चुनावको मिति घोषणा गरिसकेको छ तर एमालेले प्रधानमन्त्री नियुक्ति र संसद् विघटन दुवै प्रक्रियालाई असंवैधानिक दाबी गर्दै विरोध जारी राखेको छ।