सुनसरी/इटहरी उप–महानगरपालिका–३ डाँडागाउँ टोलमा ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा गएको अस्थायी प्रहरी चौकी तालतलैयाको टोलीले बिहीबार दिउँसो १२:३० बजे कल्पना राईको घरमा छापा मार्दा घरमै सिटी सफारीमा गाँजा लोड भइरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार घर अनुसन्धान गर्ने क्रममा सिटी सफारी (प्र. १–०२–००३ ह ९०५५) मा राखिएको अवस्थामा ९८ किलो (अन्ठानब्बे किलो) गाँजा फेला परेको थियो।
घटनास्थलबाट घरधनी ३५ वर्षीया कल्पना राई र त्यही घरमा बस्दै आएका २० वर्षीय मनोज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकासहित बरामद गरिएको गाँजा र सवारीसाधन अहिले इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।