परदेशको मोह त्यागी आफ्नै माटोमा सफल व्यवसायी बनेका अधिकारी

  • कार्तिक १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt स्वर्णिम राई (संगीता )

धरान/  इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बन्नुभएको छ ।

बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गर्नुभयो । सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रुपान्तरण भएको छ ।

यही नर्सरीबाट वार्षिक रु ३५ लाखदेखि रु ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउनुहुन्छ ।
अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गर्नुभएको थियो ।

हजुरबुबाबाट प्रेरित भएर उहाँका बुबाले सुपारीको बिरुवा उत्पादन सुरु गर्नुभयो । अधिकारीले भन्नुभयो, “बुबा सुपारीका बिरुवादेखि विभिन्न प्रजातिका फूल र फलफूलका बिरुवा उत्पादन गरेर बिक्रीका लागि वीरगञ्ज, बुटवल, नारायणगढसम्म पुग्नुहुन्थ्यो ।”

सानो उमेरमा बुबासँगै बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र फूल रोप्ने काम अधिकारीका लागि खेलभन्दा पनि बढी खुसीको विषय थियो । उहाँ सम्झनुहुन्छ, “बुबा बिरुवा रोप्नुहुन्थ्यो, म त्यसमा पानी हाल्थेँ । त्यसैमा सन्तोष मिल्थ्यो, त्यही कामप्रति मोह र लगाव बढ्दै जाँदा पछि यहीँ पेसा रोजे ।

फूल र बिरुवासँगको सम्बन्ध मेरो आत्मासँग गाँसिएको छ ।
केही समयअघि मात्र क्यानाडा पुग्नुभएका अधिकारीलाई त्यहाँको आधुनिक जीवनशैलीले लोभ्याए पनि मन भने सधैँ नेपालमै थियो । उहाँलाई अरूको देशमा गएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय गर्नु गर्वको कुरा लाग्यो ।

दुई वर्ष नबित्दै स्वदेश फर्किएर अधिकारी अहिले इटहरीमा तीन नर्सरी शाखा स्थापना गरी सञ्चालन गरिरहनुभएको छ ।
हाल अधिकारीको नर्सरीमा सात युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । “देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चिकै सन्तोषको कुरा रहेछ”, अधिकारी भन्नुहुन्छ ।
पशुपति नर्सरीमा अहिले २५ सयभन्दा बढी प्रजातिका बिरुवा छन् ।

मनिप्लान्ट, टर्मिनेलिया, चाइनादल, भियतनामी नरिवल, थाइकिङ जामुन, अम्बक, सुपारीलगायत विदेशी बिरुवादेखि सिजनल फूल र फलफूलका विभिन्न प्रजातिका बिरुवा यहाँ पाइन्छन् । केही बिरुवा कोलकाता, मुम्बई, काठमाडौँ र चीनबाट आयात हुने र केही यही आफैँले उत्पादन गर्ने गरेको अधिकारीले बताउनुभयो ।

“नरिवल र सुपारीका बिरुवाको माग अत्यधिक छ”, उहाँले भन्नुभयो । अधिकारीले सञ्चालन गर्नुभएको नर्सरी अहिले इटहरीकै आकर्षण बनेको छ । यहाँ आउने जोकोही बिरुवाको विविधता र सुन्दरता देखेर मोहित हुन्छन् । धेरै व्यक्ति किनमेलसँगै घुम्न, फोटो खिच्न र फूलबारीमा रमाउनका लागि आउने गरेका उहाँको भनाइ छ ।

अधिकारीका अनुसार अहिले धेरै जसो टिकटक, युटयुब, गुगललगायत अनलाइन माध्यममार्फत माग आउने गरेको छ । “हामीले देशभर ‘डेलिभरी’ गर्ने गरेका छौँ । देशमा सम्भावना छैन भनेर विदेशिने युवाका लागि धेरै सम्भावना नेपालमै छ । लगन, मेहेनत र विश्वास भए पर्याप्त आम्दानी गर्न सकिन्छ ।

फूल र बिरुवाले मलाई आर्थिकमात्र होइन, आत्मिक सन्तुष्टि पनि दिएको छ”, उहाँले भन्नुभयो ।

पुख्र्यौली पेसालाई निरन्तरता दिँदै परदेशको मोह त्यागी आफ्नै माटोमा आत्मनिर्भर बनेका अधिकारीजस्ता युवा उद्यमीले देशभित्रै रोजगारी र समृद्धिको बाटो सम्भव छ भन्ने प्रमाणित गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved