धरान/हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ले आगामी पुष ९ र १० गते “हिविस्कस क्विज मेनिया सिजन–४” आयोजना गर्ने भएको छ।
विद्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी र योजनाबारे जानकारी गराएको हो।
विद्यालयका सल्लाहकार पवन झाका अनुसार विद्यार्थीहरूको अध्ययनसँगै बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
विगतमा नगर र जिल्ला स्तरीय रुपमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यसपटक भने खुला स्तरीय अन्तर–विद्यालय प्रतियोगिताको आयोजना गर्न लागेको छ।
“गतवर्ष सुनसरी जिल्लाभित्र सीमित राखिएको थियो, यस वर्ष भने देशभरका विद्यालयका विद्यार्थीहरू सहभागी हुन सक्ने गरी दायरा फराकिलो बनाइएको छ,” झाले बताए।
उनका अनुसार यसपटक प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी प्रश्न तयार पारिनेछ, जसको पाठ्यक्रम सार्वजनिक सेवा आयोगको स्तरसँग मिल्दोजुल्दो हुनेछ।
प्रतियोगिताको पहिलो चरणमा समूहगत रूपमा लिखित प्रश्न दिइनेछ र सो चरणबाट छनोट भएका ६ टिमले अन्तिम फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
कार्यक्रम संयोजक सुवास मोक्तानका अनुसार यो पटक करिब १ सय ५० विद्यालयले सहभागीता जनाउने अपेक्षा गरिएको छ।
प्रतियोगिताको व्यवस्थापनका लागि शिक्षक सुवास मोक्तानको संयोजकत्वमा समिति गठन गरिएको छ, जसमा विकास साह सह–संयोजक, नयनराज राई जनसम्पर्क समन्वयक, र मनिष श्रेष्ठ प्राविधिक प्रमुख रहेका छन्।
विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राईका अनुसार विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ —
• पहिलो पुरस्कार: नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र
• दोस्रो पुरस्कार: नगद १५ हजार, मेडल र प्रमाणपत्र
• तेस्रो पुरस्कार: नगद ८ हजार, प्रमाणपत्र
• चौथो, पाँचौँ र छैटौँ पुरस्कार: क्रमशः ६ हजार, ४ हजार र २ हजारका साथ प्रमाणपत्र
गतवर्षको तुलनामा यस वर्ष पुरस्कार राशीमा वृद्धि गरिएको राईले जानकारी दिए।
२०७९ सालदेखि सुरु भएको यस प्रतियोगितामा पहिलो वर्ष हिविस्कस स्कुल स्वयं विजेता बनेको थियो, दोस्रो संस्करणमा नेपाल पुलिस स्कुल, र तेस्रो संस्करणमा फेरि हिविस्कस स्कुलले उपाधि हात पारेको थियो।
सल्लाहकार झाका अनुसार, “क्विज मेनिया”लाई अब विद्यालयको ब्रान्ड इभेन्टका रूपमा स्थापित गर्ने योजना रहेको छ।