फाइल फोटो
धरान/ सूर्यदेवको आराधना र कृतज्ञताको पर्व छठको आज मुख्य दिन हो ।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभरका नदी, पोखरी र जलाशय किनारहरूमा श्रद्धा, भक्ति र उल्लासको माहोल छाएको छ ।
चार दिनसम्म मनाइने यो पर्वको तेस्रो दिन अर्थात् संध्या अर्घ्यमा व्रतीहरू कमरसम्म पानीमा उभिएर सूर्यदेवलाई दूध, जल र विभिन्न प्रसाद अर्पण गर्छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिने यो क्षणलाई जीवनको चक्रमा ‘अन्त्य र नयाँ सुरुवात’को प्रतीक मानिन्छ ।
व्रतालुहरूले बिहानदेखि नै उपवास गरी साँझ नदी किनारमा सूपमा ठकुवा, ठेकुवा, कदरी, केरा, नरिवल र अन्य प्रसाद राखी अर्घ्य दिने तयारी गर्छन् ।
छठ पर्वमा विशेष गरी महिलाहरूले परिवारको दीर्घायु, सन्तानसुख र समृद्धिका लागि प्रार्थना गर्ने चलन रहँदै आएको छ ।
धरानको सेउती नदी, सर्धु,कोशी तट, विराटनगरको सिंगिया खोला, जनकपुरको गङ्गासागर पोखरीदेखि राजधानीको वागमती किनारसम्म भक्तजनहरूको भीड लागेको छ ।
पारम्परिक पोशाकमा सजिएका व्रतालु महिलाहरूको झुण्ड, मृदु गीत र दीपले सजिएका घाटहरूले वातावरण झकिझकाउ बनेको छ ।
भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै यो पर्व सम्पन्न गरिनेछ । धार्मिक विश्वासअनुसार अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिनुले जीवनमा संतुलन, शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुने बताइन्छ ।
छठ केवल धार्मिक अनुष्ठान मात्र होइन, प्रकृतिप्रति आस्था र कृतज्ञताको अभिव्यक्ति हो ।
सूर्य र जलजस्ता जीवनदायी तत्वप्रति सम्मान जनाउने यो पर्वले आत्मसंयम, शुद्धता र सहअस्तित्वको सन्देश दिन्छ ।