-फाइल तस्बिर
धरान/ धरान उपमहानगरपालिका–१६ बालिका माध्यमिक विद्यालय अगाडि शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय धरानका अनुसार साँझ करिब ७ बजे छाताचोकबाट रंगशालातर्फ आउँदै गरेको को २० प ३२९२ नम्बरको मोटरसाइकल र बालिका मा.वि. स्कुलतर्फ आउँदै गरेको को २० प २८०१ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोरङ बुढीगंगा गाउँपालिका–४ का १८ वर्षीय अमन पौदार, सोही मोटरसाइकलमा सवार ३५ वर्षीया आरती पौदार र धनकुटा नगरपालिका–९ आहालेका ३७ वर्षीय लाजेश राई घाइते भएका छन्।
अमन पौदारको दायाँ खुट्टामा चोट लागेको र आरती पौदारको मुख र कम्मरमा चोट लागेर दुखाइ रहेको प्रहरीले जनाएको छ। दुबैको अवस्था सामान्य रहेको बताइएको छ।
तर, लाजेश राईको दाँत झरेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई प्रहरी टोलीले उद्धार गरी तत्काल उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पठाएको थियो।
दुवै मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।